सिराहा- वडाध्यक्ष र व्यवसायीको मिलेमतोमा योजनाको काम सम्पन्न नै नगरी भुक्तानीका लागि कार्य सम्पन्नको सिफारिस गरिएको पाइएको छ। गोलबजार नगरपालिका-४, का वडाध्यक्ष सकलदेब यादवले सडकवती जडान, सिसिटिभि क्यामेरा जडानको काम सम्पन्न नै नगरी कार्य सम्पन्नको सिफारिस गरिएको पाइएको हो।
आर्थिक वर्ष २०८०/०८१ को वडास्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडाध्यक्ष यादवले एक सय ६० थान सडकवती खरिद तथा जडान कार्यको लागी १० लाख रुपैयाँ विनियोजन गराएका थिए ।
असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसंग २० प्रतिशत कमिसनमा कोटेसन मार्फत काम गराएको एक व्यवसायीले बताए। यो मात्र होइन अरुपनि योजनाहरू सम्पन्न नगरी उनले कार्य सम्पन्नताको सिफारिस दिनु वडाध्यक्ष र व्यवसायीबिच आर्थिक सेटिङको पुष्टि भएकाे ती व्यवसायीकाे दाबी छ।
वडाध्यक्ष यादवले कमिसनकै लागि अन्तिम समयमा योजना संशोधन गरी कोटेशनमा काम गराएको स्थानीय रवीन्द्र साहले आरोप लगाए। उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरूलाई कमिसनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो। यो सामान्य मानिसले पनि त्यसै भन्न सक्छ।’
काम सम्पन्न नगरी व्यवसायीसंगको मिलेमतोमा भुक्तानीको लागि कार्य सम्पन्नताको सिफारिस दिनु गैरकानुनी भएको उनी बताउँछन्। सडक मर्मत, डष्टविन खरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरू कोटेशनमा लगाएको छ। कोटेसनमै लगाएका कामहरुपनि धेरै सम्पन्न भई नसक्दै उनले भुक्तानीको लागि कार्य सम्पन्नको सिफारिस गरेको बताइन्छ।
तर, वडाध्यक्ष यादवले काम सम्पन्न भए पनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेशन मार्फत यस आर्थिक मसान्तमा २ वटाको रकम मात्र भुक्तानी भएको छ, धन्यवाद छ नगर प्रमुखज्यु र तपाईको असल प्रशंसनीय कार्यलाई।’
यता, सडकबत्तीको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी बताउँछन्। प्रमुख केसीले वडाध्यक्षले असार २४ गते फायल लिएर आउनु भएको सुनेको थिएँ,’ उनी भन्छन् ‘तर भुक्तानीको विषयमा मैले पनि बुझ्नु पर्छ।’
काम सम्पन्न नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ? भनी जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत केसिले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिस दिनु नै गैरकानुनी हाे, वडाले सिफारिस गरेको छ भन्ने वडाध्यक्षले कानुनको खिल्ली उडाएको हो।’
वडाले १० लाखको लागतमा १६० थान सडकवत्ती जडान गर्ने भनी योजना विनियोजन गरिएको वडाध्यक्ष यादवले जनाए। उनले, ‘काम छिटो सक्काउन उपभोक्ता समिति गठन नगरेर कोटेसन मार्फत नै गराए पनि समयमा काम हुन सकेन। काम अहिले पनि जारी नै छ। ठेकेदारलाई छिटै सकाउन भनेको छु।’
काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दा वडाध्यक्ष यादवले रकम निकासा नभएको दाबी गरे। उनले, ‘रकम निकासा गरिएको छैन। समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफारिस गरी फाइल १८ मा राखिएको छ।’
असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भइसकेको योजनाको फाइल नं. १८ मा जाने गरेको जानकारहरू बताउँछन्। तर काम नै नगरेको फाइल भुक्तानीको लागी कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्त्याउनु सरह भएको उनीहरूको भनाई छ।