काठमाडाैं– थाक्रे गाउँपालिकाको अद्यावधिक बेरुजु ३३ करोड पुगेको छ । आर्थिक वर्ष २०७९/८० को बेरुजु ११ करोड २३ लाखसंगै पालिकाको अद्यावधिक बेरुजु बढेको हो । गत आर्थिक वर्षसम्मको पालिकाको अद्यावधिक बेरुजु २८ करोड ७७ बेरुजु रहेकोमा हाल बढेर ३३ करोड २५ लाख ३९ हजार पुगेकाे छ ।
संघिय र प्रदेश सरकारबाट प्राप्त भएको शशर्त, विशेष र समपूरक अनुदान असारमसान्त भित्र खर्च गर्न नसकेको कारण ४ करोड ५ लाख फिर्ता गर्नुपर्ने, प्राप्त भएको करोडौँ रकम खर्च गर्न नसक्नु विकासप्रति चासो र चिन्ता कम भएकाे महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।
जनताले थाहा पाउँदैनन् जे गरे पनि हुन्छ भनी गरिएको यस्ता कैयौँ कमजोरीहरूको कारण स्थानीय सरकार प्रतिको विश्वास र भरोसा नागरिकहरूमा घट्दै गएको छ । ‘थाक्रेवासी’ले विश्वास गरेर विकासको लहर गाउँ-गाउँसम्म फैलने आकांक्षाका साथ स्थानीय सरकारको नेतृत्व गर्ने तहमा पुर्याएकाले प्राप्त भएको रकम नै खर्च गर्न नसक्नु वा नगर्नु भनेको जे गरे पनि हुन्छ भन्ने ‘उद्दण्डपन’ हो ।
स्थानीय सरकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ अनुसार आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागु गर्नुपर्ने व्यवस्था छ तर पालिकाले तयार गरी लागु गरेको छैन । बजेट व्यवस्थापन, भ्रमण खर्च व्यवस्थापन, खरिद व्यवस्थापन लगायतका बजेट र खर्चको पाटोमा मनपरी तन्त्र गरिरहेको यस प्रतिवेदनबाट स्पष्ट हन्छ । गत वर्ष योजना माग गरिए अनुसार उपलब्धिहरू के कति भए भनी वार्षिक प्रगति प्रतिवेदन बनाउने र त्यसको विषयमा समीक्षा गर्ने अभ्यास नै भएको छैन ।
खरिद गुरु योजना र वार्षिक खरिद योजना तयार नगरेको, सार्वजनिक सुनुवाइ र सार्वजनिक परीक्षण नगरेको, उपलब्धिहरूलाई संस्थागत गर्दै अभिलेखीकरण गर्दै कमीकमजोरीहरू औँल्याउने उपयुक्त प्ल्याटफर्मको योजना गरेर जनताको कुरा सुन्ने प्रणालीलाई कानुन अनुशरण नै गर्न नचाहेकाे पालिका नेतृत्वले आफ्नो स्वविवेकले गर्ने कुरा त धेरै परको विषय रहेकाे स्थानीकाे दाबी छ ।
बजेट खर्च प्रतिशतलाई हेर्दा सन्नटापुर्ण अवस्था छ । आर्थिक विकास तर्फ २.८७ प्रतिशत, पूर्वाधार विकास तर्फ ३७.६५, सामाजिक विकास तर्फ ३८.५१ प्रतिशत, सुशासन तर्फ २.४९ प्रतिशत र कार्यालय सञ्चालन र प्रशासनिक तर्फ १८.४८ प्रतिशत खर्च गरेको देखिन्छ । शतप्रतिशत खर्च गरेर विकासको गतिलाई तीव्र बनाउनुपर्ने अवस्थामा ४० प्रतिशत पनि कुनै क्षेत्रमा खर्च गर्न सकेको छैन ।
पालिकाले के कारणले गर्दा यस्तो अवस्थामा गुज्रिरहेको छ। स्थानीय सरकारले गर्ने हरेक कार्य पारदर्शी, जबाफदेही र सुशासित हुनु पर्दछ तर सबैभन्दा कमजोर सुशासनमा देखिन्छ । यसबाट धेरै कुराहरू अनुमान लगाउन सकिन्छ कि थाक्रेभित्र धेरै गडबडीहरू छन् । जबसम्म जनता जुर्मुराउदैनन् तबसम्म यस्तो कुनियतहरु भइरहने स्थानीयकाे दाबी छ ।
विकास सही र सकारात्मक ढंगबाट हुनका लागि आर्थिक वर्षको पहिलो त्रैमासिकबाट नै खर्च प्रतिशत बढी हुनुपर्दछ । तर थाक्रेको प्रथम त्रैमासिकको खर्च ३.६२ प्रतिशत रहेको छ । दोस्रो त्रैमासिकमा ११.१७ प्रतिशत, तेस्रो त्रैमासिकमा ३२.५७ प्रतिशत र चौथो त्रैमासिकमा ५२.६४ प्रतिशत खर्च गरेको देखिएको छ । आसार महिनामा मात्रै २२.२० प्रतिशत अर्थात् ९ करोड खर्च गरेको देखिन्छ।
असार महिनामा मात्र खर्चको चाँप बढेको अवस्थालाई हेर्दा सन्तुलित खर्च व्यवस्थापन भएको पटक्कै देखिँदैन । आर्थिक वर्षको अन्तिम त्रैमासिकमा अझ असार महिनामा मात्र विकास कार्यमा खर्च हुँदा विकास कतिको दिगो, बलियो र भरपर्दो हुनसक्छ ? ठुलो प्रश्न यहाँ उठेकाे छ। यस अवस्थालाई नियाल्दा थाक्रेकाे नेतृत्वले जनता र विकासप्रति कत्ति पनि चिन्तित नभई आफैँ सर्वेसर्वा जे गरे पनि हुने तवरबाट काम गरिरहेको देखिन्छ ।
अखण्डा बजेटको नाममा करोडौँ रकम विनियोजन गरी भइपरी आउने र विपद्को क्षेत्रमा खर्च गर्ने भनी छुटाएको छ । यी यस्ता विविध कारणले गर्दा यस पालिकामा वित्तीय अनुशासन र पारदर्शिता कायम भएको देखिँदैन । वित्तीय अनुशासन अपनाउन पारदर्शी भएर काम गर्नका लागि खबरदारीको टड्कारो आवश्यकता देखिएको छ ।
सीमित व्यक्तिको मुठीमा, मनपरी ढंगले स्थानीय सरकार सञ्चालन भइरहेको अवस्थामा भित्रभित्रै निराशा छविलाई पालिका नेतृत्वले जे गरे पनि टुलुटुलु हेरेर बस्ने हो र खबरदारी नगर्ने हो भने संघियतालाई टिकाइरहन गाह्याे हुन्छ। गाउँपालिकाले आर्थिक अनुशासन र नियम कानुनको प्रवाह नगरी जथाभाबी बजेट खर्च गरेको भन्दै महालेखाले आर्थिक ऐन, नियम र कानुनलाई तिलाञ्जली दिएको तथा जनप्रतिनिधिले मनपरी ढंगले रकम खर्च गरेर राज्य स्रोतको चरम दुरुपयोग गरेको औँल्याएको छ ।
यसमा मुख्य त स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिले मनपरी बजेट खर्च गर्नुका साथै कानुनले वर्जित गरेको क्षेत्रमा पनि खर्च गरेको औँल्याएको हो । मुलुक संघीयतामा गएपछि गाउँमा सिंहदरबार पुगेको र अब विकासले गति लिन्छ भन्ने आम अपेक्षाविपरीत जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा राज्य स्रोतको दोहन भएको छ ।