गोरखा– आरुघाट गाउँपालिकाकाे आरुघाटनजिक बुढीगण्डकी किनारमा आइतबार साँझ देखिएकाे एउटा शव फेरि हराएको छ।
आइतबार सांझ आरुघाटबजारदेखि तल बुढीगण्डकी किनारमा एक युवकको शव फेला परेको सूचना आज (सोमबार) बिहान गोरखा प्रहरीलाई गयाे।
‘हामी आज बिहान त्यहाँ पुग्दा शव थिएन,’ गाेरखाका प्रही प्रमुख एसपी वासुदेव पाठकले भने, ‘नदी किनारमा हिजो साँझ देखिएको त्यो शव फेरि नदीले बगाएको हुनसक्ने आशंका हामीले गरेका छौँ।’
उक्त शव धार्चेमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये कसैको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।
धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार बिहान पाहिरोले एउटा घर बगाउँदा हाइड्रो पावरमा कार्यरत एकै परिवारका तीनसहित पाँचजना कामदार बेपत्ता छन्।
विगत ३० घण्टादेखि खोजी गरे पनि उनीहरुलाई फेला पार्न नसकिएको एसपी पाठकले बताए।
यसैबीच त्रिशूली नदीमा आइतबार साँझ एक महिलाको पनि शव फेला परेको छ। ती महिलाको शव अहिले गोरखा जिल्ला अस्पतालमा राखिएको उनले बताए।
बुढीगण्डकी नदी बेनीघाट तल त्रिशूलीमा मिसिन्छ। दुई नदीको मिलनबिन्दु नजिकै महिलाको शव फेला परेको हो।
त्रिशूलीमा आइतबार फेला परेकाे शव कान्छी गुरुङको हुन सक्ने आशंका प्रहरीले गरेको छ।