महोत्तरी– बर्दिवासमा स्थानीय राजनीति दलहरूले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् ।
वडाध्यक्ष विराट विष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकाशको सट्टा विनाश र अराजकता प्रवृत्तिको मलजल भएको निष्कर्ष निकालेका हुन ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, राप्रपा र जसपासहितका स्थानीय राजनीति दलका प्रतिनिधिहरूको सहभागीमा बसेको बैठकले राजश्व चुहावट, जनभावना विपरीतका निर्णयले जनतामा स्थानीय सरकारप्रतिको वितृष्णा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अन्याय र बेथितिका विरुद्ध प्रतिवाद गर्ने बत्ताए ।
एमालेका नेता सन्त परियारले जनभावनाको उपेक्षा गर्न नहुने र यदि कसैले दुस्साहस गरे सशक्त प्रतिवाद गर्ने बताए । पछिल्लो समय बर्दिबास-३ मा रहेको खुल्ला चौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ कठ्ठा जग्गा माग गर्दै प्रक्रिया अगाडी बढाएको विषयप्रति पनि दलहरूले ध्यानाकर्षण जनाएका छन् ।
खेलमैदानको रूपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडी बढेपछि स्थानीयहरूले नदिने अडान राख्दै उक्त जग्गा स्थानीयहरूको हितमा उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । सोही विषयमा सञ्चारमाध्यमबाट समाचार बाहिरिएपछि आज स्थानीय राजनीति दलहरूले एक विज्ञप्ति जारी गर्दै उक्त जग्गा अतिक्रमण र अधिग्रहण नगर्न चेतावनी दिएका हुन ।
बैठकका संयोजक तथा वडाध्यक्ष विष्टले दलीय प्रतिनिधिहरूको हस्ताक्षरसहित मंगलबार प्रकाशित विज्ञप्ति बोकेर ज्ञापनपत्र बुझाउन सरोकारवाला कार्यालयमा जाने बताए । नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री स्वयम विकृतितर्फ उन्मुख भएको दाबी गर्दै एमालेका नेता शंकर महतोले यसलाई समयमा नै रोक्न नसके परिणाम अपेक्षा गरेभन्दा बाहिर जाने बताए ।
नेता महतोको तर्कलाई अन्य राजनीति दलका नेताहरूले समेत समर्थन गरेका छन् । गलतलाई गलत भन्ने सवालमा सबैको धारणा साझा हुनुपर्ने कांग्रेसका क्षेत्रीय सभापति महेश झाको भनाई छ ।
रेल्वे निर्माणलाई लिएर ठुलो मात्रामा राजश्व चलखेल भइरहेको बत्ताउँदै माओवादी केन्द्रका नेता राजु खडकाले अर्को बैठक बसेर छानबिन प्रक्रियालाई दबाब दिनुपर्ने धारणा राखे । पैसाको आडमा सार्वजनिक सम्पत्तिहरू दोहन भइरहेको विषयप्रति चिन्ता व्यक्त गर्दै अवैज्ञानिक र अवैधानिक दोहनले पर्यावरणमाथि नै ठुलो संकट सिर्जना हुँदै गएको उनको भनाई छ ।
मधेश प्रदेशमा नै छुट्टै पहिचान बनाउँदै गएको बर्दिवासमा खानेपानीमा चरम संकट सिर्जना भइरहेको प्रति एमालेका नगर अध्यक्ष तथा वडाध्यक्ष काहारमान स्याङ्वाले ध्यानाकर्षण गराए । उनले सचिव र कोषाध्यक्षलाई बाहिर राखेर अनियमितता भएको स्वयम् पदाधिकारीबाट गुनासो आउँदा पनि राजनीति दलहरूले ध्यान नदिएको प्रति चिन्ता व्यक्त गरे ।
आइतबार अवैधानिक उत्खननका कारण वनेको खाल्डोमा परेर १३ वर्षीय वालक रिदम विश्वकर्माको मृत्यु भएकोप्रति पनि राजनीति दलहरूले ध्यानाकर्षण जनाएका छन् ।
वडा नं. ७ वाट मामाघर वडा नं.६ जानेक्रममा उक्त वालकको खाल्डोमा परेर मृत्यु भएपछि स्थानीय सरकारको गैर जिम्मेवार र अनुगमनमाथि प्रश्न चिन्ह खडा भएको छ ।
हरेक बर्षायाममा खाल्डोमा परेर मृत्यु हुँदा पनि स्थानीय सरकारको बेवास्ता दुःखद भएको बत्ताउँदै मानव पासोको रूपमा बनाइएको खाल्डोप्रति राजनीति दलहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
-बिशाल बस्नेत/न्युज कारखाना