सिरहा– गोलबजार नगरपालिकाले ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरूलाई अभिमुखीकरण’ तालिम नै अवैधानिक ढंगले गरेको पाइएको छ। नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जनप्रतिनिधिहरू नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रममा सहभागी हनु नै पालिकाको बेथिति उदाङ्गो भएको देखिन्छ।
गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उपप्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्य साउनमा कार्यक्रमको उद्घाटन गरेको गरिएकाे छ। उपमेयर साहले कार्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाध्यक्षहरू कार्यक्रम सहभागी हुनु र सबैको आँखा अगाडी नै कार्यक्रमको मिति एक महिना अगाडीको राख्नुले नै नगरमा बेथितिको चरम उत्कर्ष पार गरेको स्थानीयहरू बताउँछन्।
नगरपालिको आर्थिक सहयोग, सामुदायिक महिला विकास केन्द्र, सिरहा-२, को आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमा ५ को समन्वयमा नियम विपरीत अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेको पाइएको छ।
न्यायिक समितिको अगुवाइमा भइरहेको कार्यक्रममा नगरपालिकाका १३ वटै वडा र मेलमिलापकर्ताहरूलाई अहिले तालिम दिएको खुलेको छ। असारमै सक्नु पर्ने कार्यक्रम साउनको १३ गते देखि १६ गतेसम्म हुने नगर उपप्रमुख मानती साहले जानकारी दिए।
तालिम अहिले भई रहे पनि ब्यानरमा भने असार १८ देखि २१ गतेसम्मको समय राखिएको छ। न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्टाइएको बजेट जसरी पनि पचाउनु पर्छ भन्ने मनसायले अहिले कार्यक्रम गरिरहेको वडाध्यक्षहरू नै बताउँछन्।
कार्यक्रममा सहभागी वडा नम्बर ३ का वडाध्यक्ष धनप्रसाद लामासंग यो के भइरहेको छ? भन्ने प्रश्नमा उनले ‘ब्यानरले बोली सकेको छ, स्थानीय जनप्रतिनिधि र वडास्तरीय मेलमिलाप सदस्यहरूलाई क्षमता विकासको लागि तालिम राखेको हो। हामीलाई अहिले प्रशिक्षकले विषय बस्तु पनि हद म्यादकै बारेमा जानकारी गराई रहनु भएछ। उनले ठट्यौली पारामा सोही अनुसार यो कार्यक्रम सकाउन ३५ दिनको म्याद थप गरिएको हो की, त्यही हदम्याद भित्र कार्यक्रम भइरहेको छ।’
नगर प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष संजित कुमार लामाले भने आफू बाहिर रहेकाले या कार्यक्रमको बारेमा जनाकारी नभएकाे बताए। जनप्रतिनिधीहरुकै अगाडी यसरी पुरानो मितिमा कार्यक्रम भइरहेको छ, यो कति जायज हो? भन्ने प्रश्नमा वडा नम्बर ९ का वडाध्यक्ष सुरेन्द्र कुमार सिंहले भने, ‘प्राविधिक त्रुटि होला के होला हामीलाई थाहा भएन, हामी तालिम लिन आएको छौँ। ब्यानरको डेट अनुसार मिलेको छैन। केही प्रविधि कारणवश ढिलो भएको हुन सक्छ।’
अव यो कार्यक्रमको भुक्तानी कसरी हुन्छ? भनी पुनः प्रश्न गर्दा वडाध्यक्ष सिंहले ‘नगरपालिकाको एउटा भुक्तानी गर्ने प्रक्रिया १८ नम्बर हुन्छ। त्यही भरेर भुक्तानी दिने हो।’ तर, उनी आफैले १८ नम्बर भर्नको लागि पनि काम तोकिएको समयमा सक्नु पर्ने प्रावधान रहेको स्वीकार गर्छन्।’
यस कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, जिन्सी शाखाका प्रमुख निरञ्जन शाक्य र सम्बन्धित शाखाका अधिकारी नानीमैया खपाङ्गीले आफूहरूलाई कार्यक्रमको विषयमा कुनै जानकारी नभएको बताए। उनीहरूले आफूहरूलाई कार्यक्रमको विषयमा कुनै जानकारी नभएकाे र कसले कसरी गराई रहेको छ थाहा नभएकाे प्रतिकृया दिए ।
‘वास्तवमा भन्ने हो भने असारमै सक्नु पर्ने कार्यक्रम हो। वडाध्यक्षहरूको वेस्तताको कारण हामीले असारमा काम गर्न सकेनौ’ उपमेयर साहले भनिन्, ‘वडाध्यक्षहरूको वेस्तताका कारण हामीले साउनको १३ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन गराइरहेका छौँ।’
गत आर्थिक वर्षको योजना अहिले गर्न मिल्छ ? भन्ने प्रश्नमा उपमेयर साहले भनिन्, ‘गर्न मिल्छ होला, अहिलेसम्म हाम्रो १८ नम्बर भर्ने कार्यपालिको बैठक बसेको छैन। बस्दा त्यसमा पेश गर्न मिल्छ होला भन्ने लागेर कार्यक्रम गराइरहेका छौँ।’
आन्तरिक सहमति अनुसार गोलबजारको लक्षित वर्गको सम्पूर्ण कार्यक्रम उपमेयर मान्ती साहले जिम्मा पाएकी छिन्। उनले आर्थिक सेटिङ्गमा विभिन्न संघ संस्थालाई कामको जिम्मा दिएको स्रोतकाे दाबी छ।
लक्षित वर्गको कार्यक्रमको लागि पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख बजेट विनियोजन गरेको थियो। उपमेयर साहले विना बार्गेनिङ एउटा पनि कार्यक्रम नगर्ने गरेको स्रोतको दाबी छ।