गोरखा– अजिरकोट गाउँपालिकाले ‘एक वडा, एक व्यावसायिक कृषि उत्पादन’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।
कृषि उत्पादन वृद्धि गर्दै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यसहित आगामी आर्थिक वर्ष २०८०/०८१ मा ‘एक वडा, एक व्यावसायिक कृषि उत्पादन’ को कार्यक्रमलाई विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
पालिका भित्र रहेका खेतीयोग्य बाँझो जग्गाको सदुपयोग गर्दै किसान एवं कृषक समूहलाई व्यावसायिक कृषि खेतीमा जोड दिने गरी पालिकाले कार्यक्रम ल्याएको हो ।
‘धेरै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन्, गाउँबाट मानिसहरू विस्थापित हुने क्रम पनि बढ्दो छ,’ उनले भने भने, ‘गाउँमै व्यावसायिक कृषि पेशाबाट आर्थिक आयआर्जन गर्न सक्ने गरी कृषकलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको हो ।’
एक कृषक समूहले कम्तीमा एउटा व्यावसायिक कृषि उत्पादन गर्न सके त्यसबाट उत्पादनमा समेत वृद्धि गर्न सकिने उनको भनाई छ । उत्पादनमा लगानी एवं उत्पादनको मात्रा अभिवृद्धि, बजारीकरणलगायतका आधारमा गाउँपालिकाले कृषक समूहलाई अनुदानका साथै क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
पालिका भित्रका कृषि उत्पादनलाई बजारीकरण गर्न कृषि उत्पादनको संकलन केन्द्र स्थापना, ढुवानीका लागि कृषि एम्बुलेन्स सञ्चालनमा समेत गाउँपालिकाले जोड दिएको छ ।
उत्पादित बस्तुको बजार मूल्य निर्धारण, बजारीकरण तथा स्थानीय तहले तोकेको बिशिष्टकृत कृषि तथा पशु उपजको न्यूनतम मूल्य निर्धारणमा देखिएका समस्याको समाधान गर्ने लक्ष्य पालिकाको रहेको छ ।
नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले माटो परीक्षणका आधारमा माटो र भूगोल सुहाउँदो बाली लगाउन कृषकलाई प्रोत्साहन गर्ने तथा भूगोल सुहाउँदो कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने गरी कार्यक्रम तय गरेको छ ।
आगामी आर्थिक वर्षदेखि गाउँपालिकाले कम्तीमा ६० प्रतिशत अनुदान उत्पादनका आधारमा वितरण गर्ने नीति लिएको छ ।