काठमाडाैं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक हुने टिप्पणी गरेका छन् ।
बुधवार गृहमन्त्री रमेश लेखकसमेत उपस्थित रहेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निः वर्तमान गृहमन्त्री समेत रहेका लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक हुने आफ्नो अनुभूति अभिव्यक्त गरे ।
सभापति लामिछानेले मिडिया ट्रायलबाट गृह प्रशासनको मनोबल गिराउने काम हुने भएकाले त्यसतर्फ सचेत भएर काम गर्न पनि गृहमन्त्री लेखकलाई सुझाव दिए । उनले वर्तमान सरकारसँग काम गर्नका लागि झन्डै दुई तिहाइ बराबरको तागत भएकाले प्रहरी प्रशासनले साहस गर्दा सबै खालका कामहरू गर्न सकिने अवस्था रहेको पनि बताए । सभापति लामिछानेले आफूले गृहमन्त्री रहँदा सुरु गरेको राम्रो कामलाई निरन्तरता दिन पनि गृहमन्त्री लेखकसँग आग्रह गरे ।
‘मिडिया ट्रायल गृह मन्त्रालयको लागि घातक छ । मन्त्रीज्यू बच्नुहोला । हुन त तपाईँलाई माया गर्नेहरू अलि बढी छन् । मैले त खरो भएर होला सकिन । तपाई सक्नुहोला । मिडिया ट्रायललाई यो संगठनलाई जोगाउनुस्,’ लामिछानेले भने, ‘संगठनको एउटा मान्छे आईजी हुने हो । अब प्रतिस्पर्धी अरूले मिडिया ट्रायल गराएर काम अघि बढाउन नदिन यति धेरै कोशिस हुन्छ कि विजोग डट कम, कन्तविजोग डटकम, हरिबिगोज डटकमका न्युजहरू ह्वाटसेपमा पठाएको छ । छातीभरि फुली नै फुली छ । मिडियाले थुरुरु कमाइदिएको छ । यो प्रहरी संगठनका लागि ठुलो समस्या बनेको छ । अहिले पनि मिडिया ट्रायल भएको छ । पहिला यो गर भनिदिन्छ । माहौल बनाउने काम गर्छ । भएन भने विज्ञको इन्टरभ्यु पनि राखिदिन्छ । पहिला यस्तो देखिन आयो भनिदिन्छ । त्यसपछि यस्तो भयो भने खराब हुन्छ भनिदिन्छ । त्यसपछि विज्ञको ओपनियन हालिदिन्छ । तेस्रो दिन सम्पादकीय हाल्छ । त्यसरी तपाईँलाई ट्रायल क्रियट गरिदिन्छ । र त्यसले प्रहरी प्रशासनको मनोबल गिराउने काम भएको छ । प्रहरी सक्षम छ, क्षमतावान् छ । अब तपाईँहरूसँग तागत पनि छ, साहस पनि छ ।’
प्रहरीलाई आफ्नो काम गर्न दियो भने उसले सम्पूर्ण चिजको छानबिन गर्न सक्ने र सम्पूर्ण चिजलाई अगाडि बढाउन सक्ने उनले बताए । राजनीतिमा लामो अनुभव हासिल गरेका गृहमन्त्री लेखकसँग लामिछानेले केही कोशिसहरु अवश्य पनि गरेको र धेरै गर्ने ठाउँ विभिन्न कारणले नरहेको बताए ।