सिरहा– सुखिपुर नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले नै मजदुरी गराएर श्रम शोषण गरेको भेटिएको छ । कर्मचारी र जनप्रतिनिधिहरूले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरूलाई काम गराएर तोकेको पारिश्रमिक नदिएर श्रमशाेषण गरेको भेटिएको हो।
स्थानीय मजदुरहरूले मजदुरी नपाएको भन्दै विगत पाँच दिनदेखि नगरपालिकाको मुख्य गेटमै तालाबन्दी गरेर धर्नामा बसेका छन्।
दैनिक ६६७ रुपैयाँका दरले पारिश्रमिक दिने सम्झौता अनुसार तीन महिना काम गराए पनि तोकिएकाे पारिश्रमिक नपाएको वडा न ६ का मजदुर सैदि सदायले बताए। उनी जस्तै सुखिपुरकै रेखादेवी रामले पनि पारिश्रमिक पाएका छैनन्। वडा नम्बर १० का गनिता मोचि र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारिश्रमिक नपाएको बताए।
सुखिपुर-६, का मजदुर सैदि सदायले आफूहरूलाई दैनिक ६६७ रुपैयाँका दरले पारिश्रमिक दिने भनेर तीन महिना काम गराए अहिले खातामा १० हजार ६ रुपैयाँ मात्र पाएकाे गुनासाे गरे। उनले भने, ‘हामीलाई पहिला तिमीहरू काम गर, सबै पैसा एकै पटक खातामा जान्छ भने, पछि खातामा रकम गइसकेको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाइ रकम पनि छैन।’
नगरपालिकामा गुनासो गर्न आउँदा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको बताए। उनीहरूले आफूहरू श्रम शोषणमा परेकाले सरोकारवाला सबैलाई सहयोग गर्न समेत अपिल गरे।
उनीहरूले वडा नम्बर ६ र १० को वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन्। लामो समयदेखि कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित भएको छ।
वडा नम्बर ६ का वडाध्यक्ष रामेश्वर साहले प्रधानमन्त्री स्वरोजगार अधिकारीले कामको लागि मजदुर मागे पछि पठाएको बताए। वडाध्यक्ष साहले पहिला दैनिक ज्यालादारी दिने भने पनि अहिले आएर नाप–जाँचको आधारमा रकम दिएको भन्दै कर्मचारीहरू पन्छिने गरेको आरोप लगाए।
वडाध्यक्ष साहले मजदुरहरूले तत्काल तोकिएको सुविधा पाउनु पर्ने र कार्यालय सुचारु गर्न नेतृत्वले पहल गर्ने पर्ने बताए।
तालाबन्दीका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ। नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत उदासीन रहँदै आएका छन्। तालाबन्दी भएको पाँच दिन बितिसक्दा पनि नगरपालिकाको तर्फबाट मजदुरहरूको दुखेसो सुनिएको छैन।
सुखिपुर नगरपालिकाका मेयर राम औतार यादव, प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुरको कार्यालयको नम्बर ९८५२८२९१११ संग सम्पर्क हुन् सकेन्। सम्बन्धित सरोकारवाला शाखाका स्वरोजगार अधिकारी अन्जिरा साहको पनि फोन उठेन।
सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरूले पारिश्रमिक विवादका कारण तालाबन्दी गरेकाले आफू अहिले घरमै रहेको बताए। उनले भने, ‘बिहान एक पटक कार्यालय गएको थिएँ, तालाबन्दीका कारण फर्किएर आएँ।’