सिरहा– पछिल्लो समय स्थानीय तहमा बेथिति व्यापक रूपमा मौलाएको छ। स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा स्थानीय तहमा हुने बेथिति आफैमा अत्यासलाग्दो छ।
यसको सानो उदाहरण सिरहाको अर्नमा गाउँपालिका हो। यो पालिकाले योजनाहरूको काम सम्पन्न नै नगरी रकम निकासा दिएको छ। पालिका अध्यक्ष र प्रशासकीय अधिकृतले कानुन विपरीत योजनाका कामहरू सम्पन्न नै नगरी आफ्नो आफन्तले गरेको कामको आर्थिक सेटिङमा रकम भुक्तानी गरेको रहस्य खुलेको हो।
मिलेमतोकै कारण भवनको छत ढलान हुनु अघि नै फर्जी मूल्याङ्कन गरेर रकम निकासा गरेको स्रोतको दाबी छ।
तराई मधेश समृद्धि कार्यक्रम र गाउँपालिकाको साझेदारीमा वडा नम्बर ३ मा पसल सञ्चालन गर्न मिल्ने ८ कोठे सटर भवन निर्माणको लागि ३४ लाख रकम विनियोजन गरिएको थियो। यो भवन निर्माण गर्न नामको लागी मात्र उपभोक्ता समिति गठन भएको थियो।
भवनको पिलर, वाल र छत ढलानको काम सम्पन्न गरी निकासा लिई सक्दा पनि उपभोक्ता समितिका अध्यक्ष सिमल देवी सदायले जानकारी नपाउनुले नामको लागि मात्र समिति गठन भएको पुष्टि गर्छ।
यस काममा कति रकम निकासा भयो, निकासा कसले लियो भन्ने उपभोक्ता समिति अध्यक्ष सदायलाई कुनै जानकारी छैन। उनी भन्छन्, ‘अफिसमै मिटीङ्ग भएको थियो, मलाई पनि समितिमा राखेको रहेछ। निर्माणका सम्पूर्ण काम गरिरहेका नवीन यादवले घरमै आएर चेकमा सही लगाएर लग्यो। म अक्षर नचिन्ने मान्छे के लेखिएको थियो केही थाहा छैन।’
सोही वडाका वडा अध्यक्ष महेश यादवले निमार्णका सम्पूर्ण काम नवीन यादवले गरेको स्वीकार गरेका छन्। उनले, ‘उपभोक्ता समिति जो कोही भए पनि काम नवीन यादवले गरेको हो, काम पनि राम्रो भएको छ।’ उनले वर्षाका कारण छत ढलानको काम असार २३ गते राती सम्पन्न भयो। अझै केही काम बाँकी रहेको छ। बाँकी कामको रकम कार्यालय प्रमुखले होल्ड गरेर राखेको बताए।
अर्नामा गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूले रकम हिनामिना गर्नकै लागी गाउँघरका निमुखा, गरिब, दलित र कमजोर वर्गका व्यक्तिलाई नामकै लागी उपभोक्ता समितिमा राखेर काम आफै वा आफन्तहरू लगाएर गराउने गरेको स्रोतको दाबी छ।
यता प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादवले निर्माणको सम्पूर्ण काम उपभोक्ता समितिले गरेको दाबी गरिन। उनले भनिन, ‘मैले बुझेसम्म भवनको काम उपभोक्ता समितिले गरेको हो। उपभोक्ता समितिले ठेकेदारलाई दिएर काम गराएको भए मलाई जानकारी भएन।’
उनले कामको मूल्याङ्कनको आधारमा २२ लाख रुपैयाँ मात्र निकासा भएको जनाउँदै अरू थप जानकारी चाहिएको भए कार्यालयमा आउनुस् भन्दै फोन काटे। सटर भवन निमार्णको लागी सोही वडाका सिमल देवी सदायलाई उपभोक्ता समितिको अध्यक्षको रूपमा खडा गरी काम भन्ने जनप्रतिनिधिकै आफन्त पर्ने नवीन यादवले गराएको स्थानीयहरूको आरोप छ।