रौतहट- बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरू आन्दोलित भएका छन् ।
बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरूले मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उखु उपहार दिए।
बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको गर्न किसानहरू गत असार १५ गते देखी आन्दोलनमा उत्रेका छन् । बाँदर नियन्त्रणका लागि यस अघि किसानहरूले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए।
प्रत्याशी यादवको नेतृत्वमा दर्जनौँको संख्यामा गएका किसानहरूले बिहीबार मेयर कन्थमणि जैसवाल लाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षति गरेको उखु उपहार स्वरूप राखेका थिए ।
गरुडा नगरपालिका वडा-२, ३, ४ र वडा न ८ गम्हरीयालगायत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुर्याएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन्।
झन्डै चार सयको संख्यामा रहेको बाँदरको समूहले पछिल्लो चार वर्ष देखी नगरपालिकाका किसानहरूले लगाउने धान, मकै, उखु, तरकारी लगायत बालीनाली नष्ट गर्दै आएको यादवले बताए।
वर्षभरिलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एक छिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरू निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन्।
२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरूको बालीमा क्षति पुर्याउने गरेका छन् ।
बाँदरले खेतबारीमा फल्दै गरेको मकै, उखु लगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।
२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरूको भनाइ छ ।
राते, बाह्रबिसे र सेते प्रजातिका झन्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरूलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एक छिनमा सखाप पार्ने भएपछि किसान अरू कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन्। सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरू बताउँछ ।
बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप रहेको छ ।