रुपन्देही– देवदहमा ‘सर्पदंश तथा स्पन्दन एवं डेंगी रोग नियन्त्रण’ सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजना र राईज हेण्डस नेपालको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेष गरी तराई भेगमा सर्पको टोकाइबाट मृत्यु हुने र पीडित हुनेहरूको संख्या बढ्दो छ । सर्पले टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न सुरक्षा विधि र विषालु सर्प चिन्ने सहज तरिका दृश्यभित्र मार्फत स्थानीयलाई बताइएको थियो ।
सर्पको टोकाइबाट बच्न बाहिर हिँड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्राय जसो बाहिर हुने भएका कारण टर्च लाइट वा लाल्टिन बालेर जाने, भुईँमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही हदसम्म बच्न सकिने सर्प उद्धारकर्ता आश्विन ओझाले बताएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिका वडा नं २ का वडाध्यक्ष दल बहादुर राकसकोटिले स्थानीय सरोकारवालाले गर्नुपर्ने काम उज्यालो लाल्टिन प्रतिष्ठानले गरेकोमा आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सर्पले टोकेपछि देखिने लक्षण
बान्ता हुने
-रिंगटा लाग्ने
-आँखा लटपटिने हुने
-आँखा धमिलो हुने
-सर्पले टोकेको ठाउँ सुन्निने, निलो डाम हुने
-जिब्रो निकाल्न वा मुख खोल्न गाह्रो हुने
सर्पले टोकेको कति समयभित्र अस्पताल पुर्याउने ?
सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ । एन्टी स्नेक भेनम नामक औषधिमार्फत सर्पले टोकेको उपचार हुन्छ ।
यो औषधि सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।