काठमाडौं- देशका विभिन्न स्थानसँगै यतिबेला मंगलबार बिहान ८:२० बजेदेखि काठमाडौँ उपत्यकामा व्यापक मात्रामा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ। ‘कतै कतै हल्का वर्षा पनि भइरहेको छ’, उनले भने।
मौसमविद्का अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने सम्भावना देखिएको छ। ‘लगातार वर्षा नभए पनि पानी पर्ने रोकिने भइरहने देखिन्छ’, उनले भने।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
हाल देशभर बर्षा भइरहेको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गर्जनसहित वर्षा भइरहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनीका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।