काठमाडाैं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिए ।
‘हामीलाई लेखा समितिको सभापति दिनु नै पर्छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिओस् । सरकारले गम्भीरताका साथ नलिइ जबरजस्ती बहुमतमा पेल्छु भन्यो भने त्यो दुर्भाग्य हुन्छ,’ उनले भने ।
आफूहरू संविधान संशोधनको विपक्षमा नरहेको भन्दै प्रचण्डले संविधान संशोधन अहिलेसम्म प्राप्त उपलब्धिहरूमा टेकेर उत्पीडित क्षेत्र, वर्ग र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउन संशोधन भए समर्थन गर्ने बताए । अहिलेको सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा परिमार्जन नभइ जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको उनको दाबी छ ।
दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने प्रचण्डको भनाइ छ । समानुपातिकता, समावेशिताको अधिकार कटौती गर्ने दस्साहास सैह्य नहुने उनको चेतावनी छ ।
‘दुई पार्टी मिलेर मात्रै संविधान संशोधन गर्न सक्ने स्थिति छैन । अहिलेको पार्टीहरूको प्रतिनिधिसभा र राष्ट्रियसभामा जस्तो उपस्थिति छ, उनीहरूले मात्रै गर्दैमा संविधान संशोधन संविधानतः कानुनतः हुनसक्ने स्थिति नै छैन । यसको कुनै तात्विक अर्थ छैन,’ प्रचण्डले भने, ‘त्यो दुस्साहास गरियो, जनताले प्राप्त गरेको समानुपातिकता, समावेशिताको अधिकार कटौती गर्ने दुस्साहास गरियो भने त्यो नेपाली जनतालाई पनि सह्य हुन्न । हामी विगतमा जस्तै सडकमा गएर प्रतिवाद गर्न बाध्य हुन्छौँ ।’
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने कुरामा प्रचण्डले जोड दिए । ‘उहाँहरू दुई पार्टी सिस्टम भनेर पश्चिमा डेमोक्रेसीको नक्कल गर्न खोज्दै हुनुहुन्छ, त्यसमा हाम्रो आपत्ति हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भन्ने मान्यता हो,’ प्रचण्डले भने ।
सरकार दलाल, विचौलिया, उद्योग व्यवसायीहरूलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको आरोप लगाउँदै उनले सरकारले छुट दिए आफूले सो विषयमा बोल्ने बताए ।
‘सरकारले दलाल, विचौलिया, तथाकथित उद्योग व्यवसायीहरूलाई राज्यको राजश्व छुट दिने पक्षमा गएको छ । सरकारले यो दुस्साहास नगरोस्, राज्यको अर्बौं सम्पत्तिलाई छुट दिने किसिमले चलखेल नगरोस्,’ प्रचण्डले भने, ‘मलाई सबै थाहा छ, मैले बोल्छु नै एकदिन । सरकार बिल्कुल गलत बाटो छ । सरकार नै विचौलियाले बनाइदिएको छ । त्यसैले सरकारले उनीहरूको सेवा त गर्ने नै भयो ।’