काठमाडौं- नेपाली कांग्रेस सांसद डा. सुनिल शर्माले सरकारले जनताले सास फेर्ने हावामा कर लगाउने कानुन ल्याउन मात्रै बाँकी रहेको बताएका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको मंगलबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा व्यवसायिक प्रयोजनका लागि जमिन मुनिको पानी उपभोग गर्न दस्तुर तिर्नुपर्ने व्यवस्था गर्नका लागि प्रस्तावित व्यवस्थामा छलफल भरहेको विषयमा कांग्रेस सांसद शर्माको उक्त धारणा आएको हो ।
सांसद शर्माले हरेक क्षेत्रमा दोहोरो-तेहोरो कर लगाउँदा व्यवसायिक वातावरण बिग्रिरहेको सांसद शर्माको भनाई थियो । ‘नेपाल सरकारले अब श्वास फेर्ने हावामा मात्रै कर लगाउन बाँकी छ, अब सरकारले हावामा कर लगाउने कानुन ल्याउन मात्रै बाँकी छ,’ उनले भने, ‘हरेक क्षेत्रमा कर लगाउँदै जाउँ अनि व्यापारी भाग्दै जान्छन् । युवा पनि विदेश जाने र गर्ने ठाउँ पनि नहुने भएको छ ।’
सांसद शर्माले खानेपानि र हावा निःशुल्क पाउनुपर्ने विषय संविधानले नै सुनिश्चित गरेका विषय कानुन निर्माताले ध्यानमा राख्नुपर्ने सुझाए । उनले उद्योगीले पनि नाफाको ३० प्रतिशतसम्म सरकारलाई कर बुझाउने कानुन रहेको कुरा स्मरण गराएका थिए । ‘कुनै पनि उद्योग देशमा स्थापित भसकेपछि उसले उत्पादनबाट गरेका नाफाबाट सरकारले कर लिइरहेको हुन्छ । उद्योगबाट १०० रुपैयाँ कमाउँदा ३० रुपैयाँ सरकारले लिएको हुन्छ । अस्पतालले पनि ३० प्रतिशत जति नै कर बुझाएको हुन्छ,’ उनले भने ।
जमिनमुनीबाट निकाल्ने पानीमा कर लगाएमा त्यसको मार जनतामा पर्ने पनि सांसद शर्माको भनाइ थियो । उनले अहिले पानीमा र भविष्यमा अक्सिजन लिएको भन्दै हावामा पनि कर लगाउने कानुन ल्याउने हो कि भन्ने आशंका रहेको बताए । जमिनमुनीको पानी औद्योगिक प्रयोजनको लागि निकाल्दा कर लागउने कानुन फिर्ता लिनुपर्ने उनको माग थियो ।