रौतहट– कटहरिया नगरपालिकाका निलम्बित मेयर अजय प्रकाश जैसवालले आर्थिक वर्ष २०८०/०८१ मा पनि दुर्गा पूजाको चन्दा दिन सकेका छैनन् ।
भ्रष्टाचार गरेको अभियोगमा केही समय अघि निलम्बित भएका मेयर जैसवाल सिंगो आर्थिक वर्षमा पनि आफैले साकार गरेको दुर्गा पूजाको चन्दा दिन नसकेका हुन् । बरु दुर्गा पूजाको विद्युत पोलमा झिलिमिली बत्ती लगाएको भन्दै लाखौँ रुपैयाँ निकासा गरिएको छ, तर पूजामा भने हालसम्म एक पैसा चन्दा नदिएको पूजा समितिले गुनासो गर्दै आएको छ।
कटहरियास्थित आस्थाको केन्द्र दुर्गा मन्दिर नगरपालिकाको प्राङ्गणमै छ जहाँ दुई दशक भन्दा बढी समय देखि प्रत्येक वर्ष बडा दसैँको अवसरमा १० दिनसम्म विधिवत् रूपमा पूजा हुँदै आएको छ। पूजा अवधिमा कटहरियाको प्रायः सबै वडाका सैयौं मानिस १० दिनसम्म रातो रंगको कपडा लगाएर पूर्ण आस्थाका साथ दुर्गा माताको पूजा आराधना गर्ने गर्दछन्।
गत वर्षको पूजामा कुल ७ लाख ८४ हजार ४१९ रुपैयाँ खर्च भएको दुर्गा पूजा समिति कटहरियाले सार्वजनिक गरेको थियो। सो मध्ये स्थानीयद्वारा कुल ५ लाख ८५ हजार ५५७ रुपैयाँ भन्दा संकलन गरिएको थियो। प्रत्येक वर्ष नगरपालिकाले पूर्गा पूजामा सहयोग गर्दै आएको परम्परा अनुसार पूजा समिति गतबर्षको दुर्गा पूजा सुरु हुनु अघि नै उनको कार्यकक्षमै पुगेर तत्कालीन मेयर जैसवाललाई भेटेर सहयोगको लागि आग्रह गरेको थियो।
तत्कालीन मेयर जैसवालले नगरपालिकाका योजना प्रमुख रामनरेश साहलाई कार्यकक्षमा बोलाएर निर्णय पुस्तिका हेरेर दुर्गा पूजालगायतको शीर्षकमा ७ लाख रुपैयाँ छुट्याएको बताउँदै ३ लाख रुपैयाँ भन्दा दिने प्रतिबद्धता जनाएका थिए।
हाल निलम्बित मेयर जैसवालको प्रतिबद्धता अनुसार पूजा समितिसंगै कटहरियाका स्थानीय भेट्दा पनि उनले दुर्गा पूजाको चन्दा दिन नसकेको हुन्। उनले यसबारे पटक पटक सामाजिक सञ्जालमा समेत गुनासो गर्दै आउँदा पनि मेयर जैसवालले वास्ता नगरेको पूजा समितिको आरोप छ।
गत आर्थिक वर्षको अन्तिम महिना अघि नै भ्रष्टाचारी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर जैसवाल, उपमेयर रिता देवी यादव, योजना प्रमुख रामनरेश यादव सहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरे संगै उनीहरू निलम्बित भएका थिए।
उनीहरू निलम्बित भएपछि कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानसंग पूजाको चन्दा बारे कुरा गर्न पूजा समितिका पदाधिकारीहरू उनको कार्यकक्षमा जाँदा निलम्बित मेयर जैसवाल पदमा रहँदा भुक्तानीको लागि कतै कुनै कागज निवेदनमा तोकादेश नगरेकाले भुक्तानी नहुने जवाफ फर्काएका थिए ।
निलम्बित मेयर जैसवालको झुटा आश्वासनको कारण कटहरिया स्थित गतबर्ष दुर्गा पूजामा खर्च भएको रकम मध्ये हालसम्म २ लाख ५९ हजार ८५० रुपैयाँ पूजा समितिको नाउँमा बक्यौता रहेको समितिका पूर्व अध्यक्ष हरिश्चन्द्र कुशवाहाले जानकारी दिएका छन् ।
दुर्गा पूजा अवधिमा बजारको केही विद्युत पोलमा झिलिमिली बत्ती लगाएर तत्कालीन मेयर जैसवालले लाखौँ रुपैयाँ निकासा गराएको स्थानीयहरूले दाबी गरेका छन् ।
कटहरियाका पूर्व गाविस अध्यक्ष जादोलाल महतो, व्यापारीहरू बजरंगी लाल साह, अनुठा प्रसाद साह, मौजेलाल साह लगायतको सक्रियतामा कटहरियामा ०५२ साल देखि मूर्ति बनाएर दुर्गा पूजाको आयोजना हुँदै आएको छ।
पूजा अवधिमा मेला समेत लाग्ने गर्दछ। पूर्व मेयर सियाराम कुशवाहाले पनि प्रत्येक वर्ष दुर्गा पूजामा आर्थिक सहयोग गर्दै आएका थिए। तर लाखौँ लाख तेलको नाउँमा , लाखौँ करारको कर्मचारीको नाउँमा, विद्यालय र अस्पतालको नाउँमा भ्रष्टाचार गर्ने निलम्बित मेयर जैसवाल भने झुटा आश्वासनमै सीमित भएका छन् ।