सिरहा– धनगढीमाई नगरपालिका अनियमितताको अखाडा बनेको छ। अनियमितता गर्ने उद्देश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरूलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रस्ट देखिन्छ।
गत आर्थिक वर्ष २०८०/०८१ मा नगरस्तरीय योजनामा मात्र एक करोड ३० लाख रुपैयाँ बोरिङ्ग तथा मोटर जडानको लागि छुट्टाएको थियो। विनियोजित रकम हिनामिना गर्नकै लागि जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा योजना टुक्र्याई नामका लागि मात्र उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गराएको खुलेको हो।
सबैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव अध्यक्ष गरेका छन्। समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन्। रकम कुम्ल्याउन सजिलो पार्नकै लागि नियम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ।
योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ। विडम्बना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन।
सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभोक्ता समितिको सचिव हो? भनी सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए। उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुँला।’
उपभोक्ता समितिलाई नै जानकारी नहुने गरी बनेको समितिले कसरी फाइल तयार पार्यो र बैंक खाता खोल्यो भन्ने प्रश्न टड्कारो रूपमा उठेको छ।
अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठन मात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ। धनगढीमाई नगरपालिका ११ मा ४ वटा बोर्डिङ र मोटर जडान भएको छ। बोर्डिङ जडान भएको उपभोक्तालाई भने समितिको नाम थाहा छैन।
नगरस्तरीय योजनामा बोरिङ्ग र मोटर जडान गर्ने भने पनि उपभोक्तासँग प्रति बोरिङ्ग ३० देखि ४० हजारसम्म नगद असुल गरेका छन्। वडाध्यक्ष र मेयरको खास मान्छेमार्फत रकम असुलेको बताइन्छ।
धनगढीमाई-११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परिवारले ७ हजारको दरले रकम उठाएर वडाध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए। उनीहरूले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाइलाई दियौँ। त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ। तर अझै फिर्ता भएको छैन’
उनीहरूलाई रकम लिएको भन्दा पनि बोरिङ्ग सफल नभएकोमा चिन्ता छ। पिउने पानीको चरम अभाव भोगिरहेका उनीहरूले वडाध्यक्षले पैसा नबुझाई बोरिङ्ग नदिने भनेपछि रकम दिए। तर, अहिले जडान भएको वोरिङ्गबाट पानी नआउँदा चिन्तित छन्। ‘बोरिङ्ग जडान भएको एक सातापछि मोटर ल्याइदिए र मोटर जडान गरेको २/३ घण्टापछि बन्द भएको मोटर अझै चलेको छैन; ती उपभोक्ताहरूले दुखेसो गरे।
त्यसै गरी, सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०/३० हजार रुपैयाँ वडाध्यक्ष अशोक श्रेष्ठले लिएका छन्। वडाध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्वग दिन्न भनेपछि बाध्य भएर रकम बुझाएको बताए।
यस वडामा मात्र हैन वडा नम्बर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरूले रकम असुल गरेको छ। दुई महिना अघि नै काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन।
यो सम्पूर्ण घटनाहरूले धनगढीमाई नगरपालिकामा हुने अनियमितता चित्रण गरेको छ। प्रत्येक वडामा उपभोक्तासँग बोरिङ्ग जडान गर्दा मोटर किन्न, मिस्त्रीलाई दिन, मेसिनमा तेल हाल्ने नाममा रकम असुल गरेको छ।
यस सम्बन्धमा जान्न ११ नम्बर वडाध्यक्ष श्रेष्ठलाई कार्यालयमा भेट्न जाँदा भेट्न सकिएन। त्यसपछि एक सातासम्म निरन्तर फोन अफ रहेको छ। रकम उठाउने कार्यमा नाम जोडिएका पवन महतोले भने आफू यस प्रक्रियामा कतै नजोडिएको जिकिर गरे।
पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि बेला बेला यस्तो कुरा आएको बताए। उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो। मैले आफैले पनि खोजीनिती गरिरहेको छु। कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कारबाही गर्छु।’
प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरूको भुक्तानी समेत नभएको बताए। उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए।