काठमाडाैं- नेपाली कांग्रेसका नेता शेखर कोईरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर निर्वाचन प्रणाली फेर्नुपर्ने भए पनि अहिले नै संशोधन गर्न नसकिने बताएका छन् ।
उनले अहिले नै संविधान संशोधन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान संशोधन गर्नका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको दुईतिहाइ बहुमत चाहिने भए पनि सरकारको बहुमत नपुग्ने बताए । उनले दुवै सदनमा बहुमत पुर्याउनका लागि दुई वर्ष कुर्नुपर्ने बताए ।
नेता कोइरालाले संविधान संशोधन गर्दा नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलहरुलाई पनि साथमा लिएर जानुपर्ने बताए । उनले अहिलेको लडाइँ प्रतिनिधित्व, पहिचान र पहुँचको लडाइँ भएको उल्लेख गर्दै संविधान संशोधनमा यो कुरालाई पनि बिचार पुर्याउनुपर्नेमा जोड दिए । उनले प्रतिनिधिसभामा सबैलाई समेट्ने र राजनीतिक दलको बहुमत पनि आउनेगरी संविधान संशोधन गरिने बताए ।
उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासनका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएको बताए । उनले नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदबाट बाहिरिँदा निष्कलङ्क भएर निस्किन आग्रह गरेको पनि बताए ।