नेपाली राजनीतिक पार्टीहरू विभिन्न इतिहास, संघर्ष र योगदानको साक्षी बनेका छन्। लोकतन्त्रको स्थापनापछि पार्टीहरूले देशको सामाजिक, आर्थिक, र राजनीतिक विकासमा उल्लेखनीय भूमिका खेलेका छन्। तर, यति लामो यात्रापछि पनि नेपाली राजनीतिक पार्टीभित्रको गुटबन्दी जस्तो समस्याले संस्थागत संरचनालाई कमजोर बनाउँदै आएको छ। गुटबन्दीको उपस्थिति कुनै एक पार्टीमा मात्र सीमित छैन, यो लगभग सबै पार्टीहरूमा देखिएको एक साझा चुनौती हो। यसले पार्टीको आन्तरिक एकता, नीति निर्माण प्रक्रिया, र जनताको विश्वासमा नकारात्मक प्रभाव पारेको छ। गुटबन्दी किन हुन्छ, यसको परिणाम के-के हुन्छ, र यस समस्याको समाधानका उपायहरू के-के हुन सक्छन् भन्ने विषयमा गहिरो विश्लेषण गर्नु आवश्यक छ।
नेपाली राजनीतिक पार्टीहरूमा गुटबन्दी हुनुका विभिन्न कारण छन्। प्रमुख कारणहरूमध्ये एउटा हो, जिम्मेवारी लिन तर त्यसलाई पूरा नगर्ने प्रवृत्ति। पार्टीमा रहेका केही नेताहरू जिम्मेवारी त ग्रहण गर्छन्, तर त्यसलाई सफलतापूर्वक पूरा गर्न असमर्थ हुन्छन्। यस्तो प्रवृत्तिले पार्टीभित्र असन्तुष्टि जन्माउँछ। नेताहरूबीचको विश्वासको अभावले गर्दा आ-आफ्ना समर्थक समूह तयार हुने क्रमले गुटबन्दीको बीजारोपण गर्दछ। यसका साथै, पार्टीभित्र हुने सभा, अधिवेशन, र चुनावहरूमा अनावश्यक प्रतिस्पर्धाले पनि गुटबन्दीलाई मलजल पुर्याउँछ। पद प्राप्त गरेपछि काम नगर्ने तर अरूको कार्यक्षमता र इमानदारीमाथि प्रश्न उठाउने चलनले पार्टीको एकतालाई कमजोर बनाउँछ।
गुटबन्दीको अर्को प्रमुख कारण हो, नेतृत्व तहमा सही सूचना आदानप्रदानको कमी। नेताहरूले जनताको वास्तविक समस्या र आवश्यकतालाई बुझ्न असमर्थ हुने अवस्था पैदा भएको छ। कतिपय नेताहरूले सामाजिक सञ्जाल वा अन्य माध्यमको आधारमा सूचना संकलन गर्छन्, जसले गर्दा उनीहरूको निर्णय प्रक्रिया प्रभावित हुन्छ। यस्तै, पार्टीको नीति, विचार, र सिद्धान्तप्रतिको बेवास्ता पनि गुटबन्दीको अर्को कारण हो। कतिपय कार्यकर्ताहरूले पार्टीका कार्यक्रम, नीति, र निर्देशनलाई गम्भीरतापूर्वक नलिँदा संगठनभित्र अनुशासनहीनता बढ्दै जान्छ। यसले पार्टीको सुदृढीकरणमा बाधा पुर्याउँछ।
पार्टीभित्रको चाकडी र चाप्लुसीको संस्कृतिले पनि गुटबन्दीलाई प्रोत्साहन दिएको छ। कतिपय कार्यकर्ताहरू पार्टी निर्माण र संगठनको सुदृढीकरणमा भन्दा नेताको चाकडी र चाप्लुसीमा रमाउँछन्। यस्तो प्रवृत्तिले योग्य र सक्षम कार्यकर्तालाई पछाडि पार्छ, जसले गर्दा असन्तोष बढ्छ। संगठनात्मक संरचनाको ज्ञान अभाव र विधि-विधानप्रतिको असम्मानले पनि गुटबन्दीलाई मलजल दिन्छ। कतिपय अवस्थामा, नेताहरूले आफूलाई मन पर्ने कार्यकर्तालाई मात्र प्रोत्साहन गर्ने र अरूको योगदानलाई उपेक्षा गर्ने प्रवृत्ति देखिएको छ। यस्तो अवस्था पार्टीको एकता र समृद्धिलाई कमजोर बनाउँछ।
गुटबन्दीलाई थप बल दिन सामाजिक र राजनीतिक अध्ययनको अभावले पनि भूमिका खेलेको छ। समाज कता गइरहेको छ, राष्ट्रिय राजनीति कस्तो छ, र अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो छ भन्ने कुरामा कतिपय नेताहरू अनभिज्ञ छन्। यो अवस्थाले पार्टीको नीति निर्माण र निर्णय प्रक्रियामा बाधा पुर्याउँछ। माथिल्लो तहका नेताहरूले तल्लो तहमा अनावश्यक क्याम्प निर्माण गर्दा पार्टीभित्रको असन्तोष झन् बढ्छ। कतिपय अवस्थामा, नेताहरूले व्यक्तिगत फाइदाका लागि तल्लो तहका कार्यकर्तालाई गलत मार्गदर्शन गर्छन्, जसले गर्दा गुटबन्दी थप गहिरो बन्छ।
पार्टीभित्रको गुटबन्दीको अर्को कारण हो, योग्यता र क्षमताको उपेक्षा। योग्य र सक्षम कार्यकर्तालाई अवसर नदिने र अरूलाई दोष थुपार्ने प्रवृत्तिले पार्टीको संगठनात्मक संरचनामा नकारात्मक प्रभाव पार्छ। हार र जितपछि आत्मसमीक्षा नगर्ने प्रवृत्तिले पनि गुटबन्दीलाई प्रोत्साहित गरेको छ। चुनाव वा अधिवेशनमा हार्नेहरूले आत्मसमीक्षा गरेर आफूलाई सुधार गर्नुभन्दा अरूलाई दोषारोपण गर्ने चलनले पार्टीभित्र असन्तोष बढाउँछ।
गुटबन्दीको अर्को ठूलो समस्या हो, पार्टीभित्रको समस्या आन्तरिक रूपमा समाधान नगरी सार्वजनिक रूपमा चर्चा गर्नु। कतिपय नेताहरूले पार्टीभित्रको असन्तोषलाई चिया चौतारी वा सामाजिक सञ्जालमा व्यक्त गर्दा पार्टीको प्रतिष्ठामा आँच आउँछ। नेताहरूले कार्यकर्ताको संरक्षण नगर्ने र कार्यकर्ताले नेताको सम्मान नगर्ने संस्कारले पनि गुटबन्दीलाई प्रोत्साहन दिएको छ। पार्टीभित्र आलोचना र आत्मालोचनाको अभावले समस्या झन् गम्भीर बन्छ। आलोचना र आत्मालोचना गर्नु स्वस्थ पार्टीको पहिचान हो, तर यसको अभावमा समस्या समाधान हुन सक्दैन।
दुई लाइन संघर्ष कुनै पनि जीवन्त पार्टीको विशेषता हो। तर, यसको व्यवस्थापनमा ध्यान नदिँदा गुटबन्दीको रूप लिन्छ। पार्टीभित्रको समस्यालाई पहिचान गरेर समाधानका उपायहरू खोज्नुभन्दा व्यक्तिगत फाइदाका लागि यसलाई प्रयोग गर्ने प्रवृत्तिले गुटबन्दीलाई प्रोत्साहन गर्दछ। पार्टीभित्रको आलोचना र आत्मालोचनाको प्रक्रिया प्रभावकारी बनाउनु आवश्यक छ। यो प्रक्रिया स्वस्थ पार्टी निर्माणको आधार हो।
गुटबन्दीको समस्यालाई समाधान गर्न विभिन्न उपाय अपनाउन सकिन्छ। पहिलो, पार्टीका नीति, विचार, र सिद्धान्तलाई स्पष्ट पार्दै नेतृत्वदायी भूमिकामा इमानदार र योग्य व्यक्तिलाई ल्याउनु आवश्यक छ। नेतृत्वले संगठनभित्रको असन्तोषलाई बुझ्न र समाधान गर्न पहल गर्नुपर्छ। दोस्रो, पार्टीभित्रको चाकडी र चाप्लुसीको संस्कृतिलाई अन्त्य गर्नुपर्ने हुन्छ। तेस्रो, पार्टीका सबै तहका कार्यकर्तालाई जिम्मेवारी र अधिकारको उचित वितरण गर्नुपर्ने हुन्छ।
चौथो, पार्टीभित्रको समस्या आन्तरिक रूपमा समाधान गर्ने संस्कार विकसित गर्नुपर्छ। पञ्चौं, पार्टीभित्र आलोचना र आत्मालोचनाको प्रक्रिया प्रभावकारी बनाउनु आवश्यक छ। नेतृत्वले कार्यकर्ताको समस्या सुन्न र समाधान गर्न तयार हुनुपर्छ। छैंठौं, पार्टीभित्रको दुई लाइन संघर्षलाई व्यवस्थापन गर्न ध्यान दिनुपर्छ। नेतृत्वले विभिन्न विचारका कार्यकर्तालाई एकै मञ्चमा ल्याएर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ।
पार्टीभित्रको गुटबन्दीले संगठनलाई कमजोर बनाउनुका साथै जनताको विश्वासमा पनि आँच पुर्याउँछ। पार्टीहरूले गुटबन्दीलाई व्यवस्थापन गर्न सके भने मात्र संगठन सुदृढ र प्रभावकारी बन्न सक्छ। नेतृत्वले इमानदारिता, पारदर्शिता, र जिम्मेवारीलाई प्राथमिकता दिएर काम गर्नुपर्छ। पार्टीभित्रको गुटबन्दीको समस्या समाधान गर्न नेतृत्व र कार्यकर्ताहरू दुवैले आ-आफ्नो भूमिकालाई इमानदार र जिम्मेवार बनाउनु आवश्यक छ।