स्याङ्जा– सहकारीको करोडौँ रुपैयाँ ठगी गरेर बिरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । नेकपा एमालेबाट निर्वाचित अध्यक्ष कुँवरले सहकारीको करोडौँ रुपैयाँ चुनावी खर्चका लागि दुरुपयोग गरेको तथ्य भेट्टाएको छ ।
सूर्योदय बचत तथा ऋण सहकारी संस्था स्याङ्जाका पूर्व सचिवसमेत रहेका कुँवरसहितको समूहले करोडौँ रुपैयाँ हिनामिना गरेको वित्तीय छानबिन र प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही छानबिनका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतबाट साउन २८ गते तीनजना विरुद्ध पक्राउ अनुमति लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ पुर्जी जारी गरेसँगै बिरुवा गाउँपालिका वडा नं. ८ मेथाभुरुङ स्थायी घर भएका बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर भागेर काठमाडौँ पुगेको आशंका स्थानीयले गरेका छन् । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुरले सहकारीको करोडौँ रुपैयाँ अघिल्लो स्थानीय निर्वाचनमा खर्च गरेको प्रमाणहरू वित्तीय छानबिन र प्रहरी अनुसन्धानमा उल्लेख छ ।
पूर्व अध्यक्ष कुँवर र सहकारीका बिरुवा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक तारेन्द्रबहादुर केसीको मुख्य योजनामा सेवा केन्द्र प्रमुख जीवन वाग्लेसहितको मिलेमतोमा झन्डै ४ करोड रुपैयाँ हिनामिना भएको वित्तीय छानबिन र प्रहरी अनुसन्धानका क्रममा पुष्टि भएको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको वित्तीय छानबिनका क्रममा बिरुवा सेवा केन्द्रबाट ३ करोड ६६ लाख रुपैयाँ आर्थिक हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । स्याङ्जा प्रहरीले आज मंगलबार मात्र सहकारीका बिरुवा सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक बिरुवा गाउँपालिका वडा नं. ८ कार्कीडाँडाका ५८ वर्षीय तारेन्द्र बहादुर केसी र मुक्तिनाथ विकास बैंक बिरुवा गाउँपालिकाको कर्मचारी पुतलीबजार नगरपालिका-१४ कि सन्ध्या भण्डारीलाई पक्राउ गरेको छ ।
स्याङ्जा प्रहरीले १८ दिन अघि नै सहकारीका बिरुवा सेवा केन्द्रका प्रमुख जीवन वाग्लेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । स्याङ्जा प्रहरीको तर्फबाट प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले अनुसन्धान गरिरहेका छन् ।