काठमाडौं– गोरखा ताकुकोट सेवा समाजले काठमाडौंले यो वर्ष पनि गाईजात्रा निकाल्ने भएको छ ।
पुर्ख्यौली घर बारपाक-सुलिकाेट गाउँपालिका-६, ताकुकोट भई काठमाडौंमा बसोबास गर्दै आएका उनीहरूले काठमाडौंमै आफ्नो संस्कृतिलाई जोगाउँदै हरेक वर्ष जस्तै यो वर्ष पनि गाईजात्रा प्रदर्शन गर्दै आइरहेका छन् ।
काठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदाय र गोरखा ताकुकोट सेवा समाज काठमाडौंको संयुक्त आयोजनमा भदौ ४ गते गाईजात्रा निकाल्ने भएको छ । सेवा समाज काठमाडौंले गाईजात्रा विगत ६ वर्ष यता नियमित हरेक वर्ष गर्दै आएको छ । ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गरी बस्ने सबै जातजातिहरू मिलेर संयुक्त रूपमा गाईजात्रा मनाउँदै आएको हो ।
समाजले आफ्नो गाउँ ठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको जात्राका संयोजक अनुप श्रेष्ठले बताए । यस जात्रामा वर्ष भरिमा मृत्यु भएका आफन्तहरूको सम्झनामा महिला बिते मान्छेलाई नै सिँगारेर गाई निकाल्ने र पुरुष बिते मान्छेलाई सिँगारेर आफ्नै परिवार भित्रकालाई सिँगारेर गाई गोरु निकालिन्छ।
आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने र बाजा, झुर्मा पनि बजाई घोडा भन्दा अगाडी दश देखी माथि नाच्ने प्रचलन रहेको संस्थाका महासचिव राजन बाबु श्रेष्ठले बताए । तिनीहरूलाई हाम्रो भाषामा भोटे तथा चीँदार भनेका हुन्छन्। विभिन्न भेषभुषमा सबैलाई हँसाउने अर्को गाईको नानीहरू महिलाको कपडा लगाएर बनेका साना साना नानीहरू लाई गाईको नानी वा भुसुना भने गरिन्छ ।
अर्को रोचक भनेको घोडा जुधाउने दुई वा तिन दुवै तिर बराबर बसेर बिचमा एक एक जनाले समालेर बाजाको तालमा जुधाउने र उफ्रने हुन्छ । अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लट्टी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा गरिने लाई टाकटुके खेल्ने गरिन्छ ।
०७३ देखी निरन्तर गाईजात्रा निकाल्दै आएको समाजले नेपालको नमुनासहित छुट्टै पहिचानसहितको गाईजात्रा निकाल्दै आएको संस्थाका सचिव धिरज उपरकोटीले बताए। यो जात्रा काठमाडौंको वनस्थली चोक अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट बिहान ११ बजेदेखी खरीबोट बल्छी ध्रुवे फुटशल हुँदै रानीवन राधाकृष्ण मन्दिरबाट ढुंगेधारा क्षेत्र हुँदै फेरी वनस्थलीमा आएर अन्त्य गरिनेछ ।
गोरखाबासीले काठमाडौं आएर पनि आफ्नो सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाउने गरेको हो । प्रचार प्रसारको अभावमा ओझेलमा परेको छुट्टै संस्कृति र पहिचानसहितको गाईजात्रा सुलिकोटमा सयौँ वर्षदेखि मनाउँदै र निकाल्दै आएको पाइन्छ ।