काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध काम गर्दा गर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।
शनिबार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
‘पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा इतिहासमै महत्वपूर्ण काम भएका छन् । बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,’ उनले भने ।
उनले भने, ‘संसद्मै हालका प्रधानमन्त्रीले माथिबाट कांग्रेससँग बोलचाल खुलाउनुपर्यो भनेर भन्ने अनि तलबाट शेरबहादुरजीले खुलाउने–खुलाउने भनेपछि मैले कुरा बुझिहालेँ र मैले त्यतिबेलै तपाईंहरू मिल्नुस् भनेको थिएँ । पछि त काले–काले मिलेर खाउँ भाले भयो । जनताले पनि त्यही ढंगले बुझेका छन् ।’
उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राखेकाे र त्यो फरक मत नरहेको दाबी गरे । शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको उनकाे दाबी थियाे । उनले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताए।
आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको उनकाे स्वीकारोक्ति थियो । उनले जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गरे ।
उनले भने, ‘स्थायी कमिटीको बैठकमा जब हामी गयौँ, केही कमरेडले अलि भिन्न ढंगले राख्नुभएको थियो । सबैलाई थाहा नै छ । कमरेड जनार्दन शर्माले लिखित रुपमा राख्नुभएको थियो । उहाँले मेरो फरक मत हो भनेर त राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन । उहाँले आफ्नो मतको रुपमा राख्नुभयो । यो मेरो फरक मत होइन, मत मात्रै हो । अरु साथीहरुले मुखले भन्नुभयो, मैले लेखेर भनेको मात्रै हो भनेर स्पष्ट पनि पार्नुभयो । तर बाहिर के हो ? भन्ने आशंका र तरंग पैदा भयो । स्थायी समितिको बैठकको अन्त्यसमम आइपुग्दा हामीले त्यसलाई मुख्य रुपमा सम्बोधन ग¥यौँ । जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले त्यो भाषा त कहिल्यै भनेको थिएन । तर विभिन्न मानिसहरुले आएर सुनाउने गरेका थिए । त्यसले यदाकदा के हो ? भन्ने भएको थियो । स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट पार्नुभएको छ । जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु । पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ । अब एकतावद्ध भएर जाने हो । कसैले भन्दैमा त्यो आशंका राख्न परेन । उहाँले उठाएका गम्भीर आशंकाका विषय छन् । व्यवहारिक कुराहरु आशंकाका छन् । ति पनि स्थायी समितिको बैठकको अन्त्यसम्म आउँदा क्लियर हुने भनेको छु ।’
फरक प्रसंगमा अध्यक्ष प्रचण्डले पार्टी एकताबद्ध भएर जनताकोमा जानुपर्ने अवस्था रहेको बताए ।