काठमाडौं- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन् । शनिवार पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले आफूहरु बेदाग भएर सरकारबाट निस्किएको बताए ।
उनले इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरुका लागि महत्वपूर्ण रहेको बताए । उनले इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने रहेको बताए ।
पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुनुपर्ने समेत उनको भनाई छ । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जान आवश्यक रहेको बताए ।
उनले भने, ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ । अहिले सरकार बनाउनेहरुको बारेमा आम चर्चा छँदैछ । हामीले भन्नु पनि पर्दैन । भ्रष्टाचारीहरुलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ । इतिहासले हामीलाई अहिले सुम्पिएको जिम्मेवारी ग्रहण गर्दै त्यसको सम्पादन, त्यो कार्यभार पूरा गर्नुपर्ने आजको आवश्यकता छ । हामीलाई इतिहासले सुम्पिएको जिम्मेवारी भनेको पार्टीलाई एकतावद्ध, सुदृढ गर्ने हो । हाम्रो पार्टीको नेतृत्वलाई बलियो बनाएर, नेतृत्वको वरिपरी गोलबन्दी हुने हो । पार्टीको वैचारिक कार्यदिशा एकरुप समझदारीसाथ ग्रहण गर्ने र विचारलाई अझ विकास गर्ने दिशामा जाने हो ।’
श्रेष्ठले पार्टीलाई एकतावद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बनाउन वैचारिक, सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।