रौतहट– तलब भत्ताको माग गर्दै शिक्षिका तथा विद्यालय कर्मचारी धर्नामा बसेका छन् । आगामी ४ गते मंगलबारसम्म तलब भत्ता नपाएमा ५ गते बुधवार देखि कटहरिया नगरपालिकाको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन्।
नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा विद्यालय कर्मचारी नगरपालिका प्राङ्गण भित्र आइतबार धर्नामा बसेका हुन् ।
नगरभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरू,बाल विकास सहयोगी कार्यकर्ताले तलब र भत्ताको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक वर्ष २०७९/०८० को वैशाख देखि असार मसान्तसम्मको न्यूनतम थप तलब , यस आर्थिक वर्षको वैशाख देखि हालसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाइ भएको छ।
सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले आगामी ५ गते मंगलबार सम्म तलब भत्ता निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुने बताएका छन्।
आज देखी सुरु भएको धर्ना लाई भोली ३ गतेसम्म निरन्तरता दिने , भदौ ४ गते हातमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चित कालका लागि बन्द गरिने धर्नामा सहभागी एक जना शिक्षक देवीलाल कुशवाहाले बताएका छन्।
कटहरिया स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन्।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रिता देवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर झन्डै १ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा विद्यालय कर्मचारी तलब सुविधा पाउन बाट वञ्चित भएका छन्। गत आर्थिक वर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुविधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ।
करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले वार्षिक करोडौँ रकम निकासा गराउँछन्। तर दिनरात मिहिनेत गरेका विद्यालय कर्मचारी तथा बाल विकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवालसंगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो न देखाएको पीडितहरूले गुनासो गरेका छन् ।