काठमाडौं- आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते १६ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ भने बाँकी सबैको मृत्यु भएको हाे ।
‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत दुई पटक गरेर काठमाडौं पठाइयो भने बाँकी सबैको मृत्यु भयो,’ तनहुँका सीडीओ जनार्दन गौतमले भने, ‘सुरुमा १४ जनाको मृत्यु भएको र पछि १३ जना गरी २७ जनाको मृत्यु भएको हो ।’
मृत्यु हुने सबैको शव आँबुखैरेनीमा राखिएको छ भने दुर्घटनार अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ ।
भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो । उनीहरु २ दिन पोखराको स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको थिए ।