काठमाडौं- सरकारी सवारी साधन चलाउने ड्राइभरको जीवनबीमा (इन्स्योरेन्स) गर्न माग गर्दै सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन् ।
सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी संयुक्त संघर्ष समितिले शुक्रबार सिंहदरबारभित्रै प्रदर्शन गरेको हो ।
उनीहरुले सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलनलाई अझै बढाउँदै लैजाने बताएका छन् । संघर्ष समितिका उपाध्यक्ष जितेन्द्रकुमार मिश्राले सवारी साधनको इन्स्योरेन्स भएझैँ सरकारी सवारी साधन चलाउने ड्राइभरको पनि हुनुपर्ने आफूहरुको माग रहेको बताए ।
चालकहरुलाई महँगी भत्ता र सामाजिक सुरक्षा कोषको समेत व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । संघर्ष समितिका अध्यक्ष श्याम सापकोटालाई नियमित काममा फर्काउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको उपाध्यक्ष मिश्राले बताए ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भारी सवारी चालक सापकोटालाई मानसिक तनाव दिई जागिरबाट निस्किने अनुचित वातावरण बनाइएको भन्दै सिंहदरबारमै अनसन बसेको बताए ।
उनले भने, ‘गाडीको इन्स्योरेन्स भएजस्तै ड्राइभरको पनि इन्स्योरेन्स गरिदिनुस्, महंगी भत्ता, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिदिनुस् भन्दा यहाँका हाकिमले काम गर्ने इच्छा भए गर्नुस् र नगर्ने भए जानुस् भनेपछि साँचो छोडेर जानुभयो । उहाँकै बारेमा प्रधानमन्त्री कार्यालयमा यस्तो अभद्र व्यवहार हुन्छ भने हामी चुप लागेर बस्दैनौँ ।’
उनीहरुले सरकारको विभिन्न निकायहरुमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुको समस्याहरु समाधान गर्दै न्यायोचित व्यवस्थापन गर्न माग गरेको बताए ।
लामो समयदेखि कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुलाई मानसिक तनाव बढाउने र रोजगारीबाट हटाई आफ्नो नजिकका व्यक्तिहरुलाई राख्ने उद्देश्यले हटाइएको उनीहरुको आरोप छ ।