काठमाडौं- नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण यही भदौ २७ र २८ गते काठमाडौंमा हुने भएको छ।
नेपाल उद्योग परिसंघ (सीएनआई)ले पूर्वाधार क्षेत्रमा लगानीकोे विविधता खोज्ने तथा औद्योगिक वातावरण बनाउने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग मिलेर सम्मेलन गर्ने भएको हो।
यसपालिको सम्मेलनको नाम ‘बीवाइडी नेपाल इन्फ्रास्ट्रक्चर समिट’ राखिएको छ। लगानी बोर्ड सम्मेलनको सहआयोजक हो।
राष्ट्रिय अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्र तथा एशियाली विकास बैंक र विश्व बैंकका प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्।
सम्मेलनमा क्षेत्रीय यातायात, उर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा छलफल गर्ने तालिका छ।
सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ? नीतिगत रुपमा के के सुधार गर्नुपर्छ? पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास के के छन्? भन्ने विषयमा गहन रुपमा छलफल हुने बताए।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजना पूर्वाधार सम्मेलनमा पनि राखिने जानकारी दिए।
विभिन्न प्रदेश र महानगरपालिकाले अगाडि बढाएका परियोजना पनि सोकेसमा राखिने छ।