स्याङ्जा– वालिङ नगरपालिकाले १६ औँ नगर सभा सम्पन्न गरेको २ महिनासम्म पनि चालु आर्थिक वर्षको योजना सार्वजनिक गर्न सकेको छैन । नगरपालिकाको गत असारमा आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट विनियोजन गरे पनि जनप्रतिनिधिको एक आपसको द्वन्द्वका कारण योजना सार्वजनिक हुन नसकेको हो ।
स्थानीय तहको बजेट निर्माण उपप्रमुख ले गर्ने कानुनी प्रावधान रहेको छ । वालिङ नगरपालिकामा उपप्रमुखले बजेट तथा योजना प्रस्ताव गरेको कार्यपालिकाले स्वीकार नगरेपछि विवाद सृजना भएको थियो । त्यसपछि उपप्रमुखको अधिकारमाथि वडाध्यक्षहरूले हस्तक्षेप गरी नगर प्रमुख र वडाध्यक्षहरूले योजना निर्माण गरेका हुन । यो प्रक्रियामा उपप्रमुखको सहभागिता रहेको छैन ।
उपप्रमुखले प्रस्ताव गरेको बजेट भन्दा फरक निर्माण गर्दा नगर स्तरीय अधुरा योजनामा रकम विनियोजन गरिएको छैन ।
यस अधि नगरसभाबाट प्रत्येक वडालाई ५० लाख र १४ नं वडालाई ६० लाख वडा स्तरीय बजेट तोकिएकोमा पुन वडाध्यक्षहरूले २० लाख र कार्यपालिका सदस्यहरूले ५ लाख गरी योजना वाड फाँड गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ ।
नगरपालिकाको रणनीतिक कार्य योजना, अल्पकालीन र दीर्घकालीन योजना अलपत्र परेका छन् । यसरी नगरपालिकाको बजेटमा वडाध्यक्षको प्रत्यक्ष हस्तक्षेपको नागरिकले विरोध जनाउन थालेका छन् ।
नगरपालिका स्थापनाको पहिलो २०५२ सालमा नामकरण गरिएको रिङ रोड मिर्दी भिमटारी विपिचोक हुँदै डुम्रिकोट सडक २ वर्षदेखि अलपत्र पारेर निर्माण रोकिएको र यस वर्ष पनि बजेटले सम्बोधन नगरेपछि नागरिकहरू आन्दोलित भएका छन् ।
चालु आर्थिक वर्षको बजेटले गौरवका आयोजना समेत नसमेट्ने र टुक्रे योजना बनाई नगरपालिकाको बृहत्तर विकासमा असर परेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । वालिङको राजधानीको रूपमा रहेको ८ नम्बर वडाका नागरिकहरूले वडाध्यक्ष र नगर प्रमुखलाई एक हप्ताको अल्टिमेटम सहितको ध्यानाकर्षण पत्र बुझाएका छन् ।
वालिङको वैकल्पिक सडकको रूपमा प्रयोग हुने उक्त सडक निर्माणमा नगरपालिका उदासीन बनेकोले नगरपालिका र वडा कार्यालयका विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरी आन्दोलन गर्न बाध्य भएको संघर्ष समितिका संयोजक हुमनाथ अर्यालले जानकारी दिए ।
मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुग्ने अपेक्षा नागरिकले गरेका थिए तर गाउँ गाउँमा पुगेका सिंहदरबारहरू भ्रष्ट्राचार लिप्त हुन थालेको ज्ञापन पत्र मार्फत आरोप लगाइएको छ ।
‘स्थानीय तहलाई जनताको घरदैलोको सरकारको रूपमा लिएका छौँ’ ज्ञापन पत्रमा भनिएको छ, ‘नागरिकको आवश्यकता भन्दा पनि जनप्रतिनिधिले लाभलिने योजनालाई प्राथमिकतामा दिन थालिएको महसुस गरिएको छ ।’ जसले गर्दा नगरपालिकाको गौरवका आयोजना अलपत्र पार्ने र जनप्रतिनिधिले लाभ लिने कार्य बन्द गर्नुपर्छ वडावासीको तर्फबाट संयोजक अर्यालले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाको १६ औँ नगर सभाबाट सार्वजनिक भएको बजेटमा उक्त सडक बनाउने प्रतिबद्धता ७ दिनभित्र दिन नसकेमा वडा कार्यालय सहित नगरपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी वडावासीले दिएका छन् । तालाबन्दी पछि नागरिकमा पर्ने असुविधाको वडा कार्यालय र नगरपालिका जिम्मेवार हुनुपर्ने समेत वडावासीले चेतावनी दिएका छन् ।
वडावासीको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख कृष्ण खाँणले सीमित साधन श्रोतले नगरको विकासमा भनेजस्तो काम गर्न नसकिएको उल्लेख गरे । नगरपालिकाकै पुरानो यो सडक निर्माणका लागि नगरपालिकाले छिट्टै निकास दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
वालिङले ३ वटा सडकलाई प्राथमिकतामा राखेको छ ज्ञापन पत्र बुझ्दै नगर प्रमुख खाँणले भने, ‘प्राथमिकतामा राखेका सडक निर्माणका लागि प्रदेश र संघिय सरकारसँग माग गर्ने योजनामा छौँ ।’ जनप्रतिनिधिलाई झकझक्याउने काम गरेकोमा वडावासी धन्यवादको पात्र हुनुभएको छ उनले भने ।
वडा नम्बर ८ का वडाध्यक्ष दामोदर तिवारीले वडावासीको माग प्रति आफू गम्भीर रहेको बताए ।
नगरपालिकामा पर्याप्त बजेट नहुँदा सडक बनाउन ढिलाइ भएको तिवारीको भनाई छ । वडावासीले दिएको सुझावलाई आफूले अनुसरण गर्दै यो सडक निर्माणमा वडा कार्यालयको पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ९६ करोड १४ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जनप्रतिनिधिहरूको विवादका कारण अहिले सम्म पनि बजेट पारित नभएको बताइएको छ ।