काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एनसेलसँग के कनेक्सन हो ? भनेर प्रश्न सोधेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले कानूनविपरित एनसेलको नवीकरण गरिएको भन्दै आपत्ति जनाएका छन्।
उनले भने,‘कानूनविपरित एनसेलको नवीकरण हुने भएछ । करदाता कार्यालयले तोकेको राजस्व नलिईकन सरकारले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गर्यो । यही भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले किस्ताबन्दीमा राजस्व लिने गरी लाइसेन्स नवीकरण गर्ने निर्णय गर्यो । यो पहिलो होइन, यो तेस्रो पटक किस्ताबन्दीमा नवीकरण गर्ने निर्णय गरिएको छ। अरबौँ अरब राजस्व हिनामिना हुने गरी जो सरकारले गरिरहेको छ, यहाँ गम्भीर प्रश्न उठेको छ । के आधारमा र कुन कानुनअन्तर्गत रहेर यो नवीकरण गरियो रु म प्रश्न गर्न चाहन्छु । प्रधानमन्त्रीको एनसेलसँग कस्तो कनेक्सन छ ? हामी जान्न चाहन्छौँ । ठुलाबडाहरूलाई एउटा कानुन लाग्ने अनि सानालाई अर्को कानुन लाग्ने हुन्छ रु आम जनताले आफ्नो व्यावसायिक फर्मलाई नवीकरण गर्नुपर्दा के उसले राजस्व छुट पाउँछ ? सानाले त नवीकरण गर्दा ढिला भए जरिवाना तिर्नुपर्छ । यो प्रवृत्तिले राजस्व संकलन भन्दा पनि व्यक्ति मोटाउने कुरा हामीले हेरिरहेका छौँ ।’
उनले एनसेलले अरबौँ रुपैयाँ राजस्व रोकेर राखेको र सरकारलाई नबुझाएको स्मरण गराए ।
उनले प्रश्न गरे–‘यदि त्यो पैसा उठेन भने वा ती विदेशी लगानीकर्ता भाग्यो भने राजश्व कसले दिने रु प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ कि पर्दैन ? अहिलेका मन्त्रिपरिषद्का मौजुदा मन्त्रीहरू यसको जमानत बस्नुपर्छ कि पर्दैन रु सरकारले आफ्नो विश्वासमा यो निर्णय लिई राख्दा भोलि यी विदेशी लगानीकर्ता भाग्यो भने र भोलि यो राजस्व कसैले दिने स्थिति भएन भने भोलि यो क्याबिनेटका सदस्यहरू यसको जिम्मेवार हुनुपर्छ कि पर्दैन ?’