गोरखा– चुमनुव्री गाउँपालिका-१, सामागाउँको रुइला र वडा नं ७, छेकम्पारको ङुइला नाकाबाट नियमित रूपमा आयत हुँदै आएकाे भोटे नुन विगत ६५ वर्षदेखि ठप्प छ ।
भोटे नुनको बजार हिमाल, पहाड देखि तराइसम्म थियो । २०३० सालसम्म मुस्ताङका नाकाबाट नुन आयात हुने गरेको साे क्षेत्रका जानकारहरू बताउँछन्। सडक मार्गको विस्तार हुँदै गएपछि भोटे नुनको व्यापार कमजोर बनेको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले दावी गर्छन्। सन् १९५९ पछि कारोबार ठप्प छ ।
उनका अनुसार, एक ताका उच्च हिमाली भू-भागबाट मध्य पहाड अनि तराईसम्म भोटे नुनको बजार थियो। मुद्राको धेरै प्रचलन नरहेकाले उच्च हिमाली भू-भागबाट मध्यपहाडका उपत्यकाहरूमा नुन र अन्न साटिन्थ्यो ।
पृथ्वीनारायण शाहले विजय अभियानका दौरान सिक्किमको अधीन रहेका विजयपुर र दार्जीलिङका केही भू-भाग कब्जामा लिएपछि तिब्बतीहरू चिढिए । यसले व्यापारिक सम्बन्ध ठप्प हुँदा दुवै देशका नागरिकको जीवन अस्तव्यस्त हुन पुग्यो । नेपालमा नुनको हाहाकार मच्चियो । त्यही क्रममा हिमाली नाकाबाट लुकिछिपी भोटे नुन आयात हुन थाल्यो ।
सन् १८५६ मा नेपाल र तिब्बत सरकारबिच काठमाडौंको थापाथलीमा सन्धि भएपछि औपचारिक रूपमै व्यापारको ढोका खुलेको थियो । (बाबुराम आचार्य, चीन, तिब्बत र नेपाल, पृ.१६०-१६१) ।
कुनै समय चीनमा सुनभन्दा नुन महँगो थियो । नेपालमा चाहिँ नुनको प्रयोग कहिले र कसरी सुरु भयो, यकिन छैन । तर, खास गरी भोटे नुन एक ताका नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा थियो । हिमाली बासिन्दाको जीविकाको आधार थियो ।
इतिहासदेखि नै नेपालका हिमाली बासिन्दा धार्मिक-सामाजिक रूपमा तिब्बतसँग निकट छन् । उनीहरूको मुख्य पेशा पशुपालन र कृषि थियो, तर यतिले जीवन धान्न मुस्किल परेपछि अन्तरदेशीय व्यापार पनि सुरु गरे । सन् १८५० पूर्व तिब्बतबाट नेपालमा नुन, घोडा, ऊन, धूलो सुन, याक र चौँरीको पुच्छर आयात हुन्थ्यो । नेपालबाट अनाज, लसुन, खुर्सानी, लत्ताकपडा, मरमसला, मुगा, ठेकी, छुरी, चक्कुको बिँड, हस्तीहाडले बनेका बट्टा आदि पठाइन्थ्यो ।
तिब्बतीयनहरुले नुनको व्यापार राम्रो गरेको देखेर राजा महेन्द्रले सन् १९६० मा मनाङका व्यापारीहरूलाई विशेष राहदानीको व्यवस्था समेत गरिदिएका थिए । जसले उनीहरूलाई अन्तर्राष्ट्रिय पहुँच दियो। उक्त राहदानी मार्फत मनाङेहरूले भारतको कलकत्ता हुँदै बर्मा, मलाया, थाइल्यान्ड अनि सिंगापुरसम्म व्यापार फैलाएको विमभान स्पेङेनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
खेती-किसानीले नधानेर लामो समय व्यापारमा खटिनुपर्ने बाध्यताकै कारण हिमाली भेगमा धेरैले बहुपति प्रथा अवलम्बन गरेका थिए । सबै भाइकी पत्नी एउटै हुँदा घरपरिवार केन्द्रमा रहने तथा अतिरिक्त अन्न जोहो गर्न नपर्ने सहजता थियो । अर्कातिर कुनै भाइ घरको हेरचाह गर्ने, कोही चाहिँ नुनको व्यापारमा टाढासम्म खटिन सक्थे ।
यो प्रथाले हिमाली बासिन्दालाई भौतिक स्रोतहरूको व्यवस्थापन गर्न सघाएको थियो ।

भोटे नुन हालेको लुकालको चाङ छेउ खाना पकाउँदै गरेका हुम्लाको उच्च हिमाली भेगका हटारू। तस्वीर सौजन्य: जियन कलाउडे लातेम्बे
नुनले गाँसेको साइनो
नुनकै कारण उच्च हिमाली र मध्य पहाडका जनजातिबीच सम्बन्ध गाँसिन पुग्यो। कोही इष्टमित्र बने त कसैले मितेरी साइनो (नेचाङ) लगाए। विशेष गरी उपल्लो हुम्लाका लिम्याल र न्यिन्बाको खससँग, उपल्लो मुगुका मुगाल र जुम्लीको तल्लो मुगुका खससँग, उपल्लो डोल्पाका डोल्पोको तराली मगर र खस मतवालीसँग, उपल्लो मुस्ताङका लोवाको थकालीसँग, रोल्वालिङ, सोलुखुम्बुका शेर्पाको सुनुवार र राईसँग, उपल्लो ताप्लेजुङका वालुङको लिम्बूसँग हितैषी सम्बन्ध बन्यो।
यही सम्बन्ध हिमालपारि पनि थियो। हिमालीहरू तिब्बतीसँग मीत लगाउँथे। तिब्बतबाट नुन लिएर आउने प्रत्येक मानिसका आआफ्ना मीत हुन्थे। कोसेली आदानप्रदानले त्यो सम्बन्धलाई झन् प्रगाढ बनाएको हुन्थ्यो। यसरी नुन र अन्नको विनिमयसँगै मानवीय सम्बन्ध समेत साटासाट गरिन्थे।
-जगबहादुर बुढा (हिमाल मासिक २०७८ चैत अंक) सम्पादन गरिएकाे- सं