काठमाडाैं- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी छनोट भएका छन् । जोशीलाई पर्यटन बोर्ड सञ्चालक समितिको बिहीबार बसेको बैठकले सीईओ नियुक्त गरेको हो ।
खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट जोशी सीईओ छनोट भएका हुन् । २० मध्ये निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र जोशी अन्तिम प्रतिस्पर्धामा थिए ।
जोशीले रेग्मी सीईओ हुनुभन्दा अघि एक कार्यकाल सीईओको जिम्मेवारी पूरा गरेका थिए । जोशी चार वर्षका लागि सीईओ नियुक्त भएको बोर्ड सञ्चालक समितिका एक अधिकारीले जानकारी दिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव इन्दु घिमिरेको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले जोशीको नाम दोस्रो नम्बरमा सिफारिस गरेको थियो ।
जोशीले यसअघि पनि प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन् ।
तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल ०८० माघ १४ मा सकिएपछि बोर्ड प्रमुख कार्यकारी अधिकृतबिहीन भएको थियो । बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष संलग्न भएको र स्नातकोत्तर उत्तिर्ण गरेको मापदण्ड राखिएको थियो ।