काठमाडौं- सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई आगामी चार वर्षका लागि टेलिकम प्रबन्ध निर्देशक नियुक्त गरेको हो ।
पहाडी यसअघि २०८० असोज दोस्रो सातादेखि टेलिकमको निमित्त प्रबन्ध निर्देशक थिइन् । निमित्तको जिम्मेवारी सम्हाल्दा पहाडी नायब प्रबन्ध निर्देशक थिइन् । त्यो बेला सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पहाडीलाई निमित्त प्रबन्ध निर्देशक भई काम गर्न दिने निर्णय गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ मा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेपछि टेलिकममा तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल निलम्बनमा परेपछि अदालतबाट फैसला नआउन्जेल टेलिकमको नेतृत्व पहाडीले गरेकी थिइन् ।
पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।
तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी उनले १० फागुन २०५१ मा स्थायी नियुक्ति लिएकी थिइन् । १८ माघ २०७८ मा नायब प्रबन्ध निर्देशक भएकी पहाडीले दुई पटक टेलिकम प्रबन्ध निर्देशक बन्न आवेदन दिएकी थिइन् ।
यसअघि सुनिल पौडेल प्रबन्ध निर्देशक बन्दा सिफारिसमा परेका अन्तिम तीन जनामा उनको नाम थियो ।
पहाडीलाई असोज १६ को मन्त्रीस्तरीय निर्णयले कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एमडी पदका लागि जेठ २२ मा दरखास्त आह्वान गरेकोमा त्यसमा १७ जनाले आवेदन दिएका थिए।
टेलिकमकी निमित्त प्रबन्ध निर्देशक पहाडीसँगै टेलिकमकै विमल आचार्य, राजेश जोशी, अनन्तप्रकाश मल्लिक, प्रेमप्रसाद सिलवाल, कृष्णप्रसाद भण्डारी, लक्ष्मण महर्जन, सुवास साह, शालिकराम सुवेदी, कमल लामिछाने, केदारनाथ कोइराला, शालिग्राम पराजुली र बुद्धिप्रसाद आचार्यले आवेदन दिएका थिए।
टेलिकमबाहिरका चिन्तामणि बराल, अनिलकुमार झा, नागेन्द्रकुमार दास र रमेशप्रसाद जोशी पनि टेलिकमको नेतृत्व सम्हाल्न इच्छुक देखिएका थिए। जसमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झा, टेलिकमकै निमित्त पहाडीसँगै विमल आचार्यको नाम सिफारिस समितिले सिफारिस गरेको थियो। यिनै तीनमध्येबाट मन्त्रिपरिषद्ले पहाडीलाई नियुक्त गरेको हो।