काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि एकल सेवाकेन्द्र प्रणाली सुरू गरेको छ । काठमाडौं प्लाजास्थित कार्यालयको ब्लक ‘क’को भुइँ तलाबाट एकल सेवा सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले बताए ।
प्रमुख प्रशासकीय अधिकृत परियारका अनुसार महानगरभित्र जुनसुकै सेवा लिन पनि यस केन्द्रमा आएर टोकन लिनु पर्ने र त्यसैका आधारमा सेवा प्राप्त हुने विद्युतीय प्रक्रिया अगाडि बढ्ने छ।
यो सेवा केन्द्रबाट आज वडा नम्बर ५ बाट विपन्न नागरिक सिफारिस लिन आएका सुरेश प्रजापती र राजस्वका दररेट सम्बन्धी जानकारी लिन आएका ३२ नम्बर वडाका समिर नेपाललाई टोकन प्रदान गरेर सुरु गरेको हो ।
उपप्रमुख सुनिता डंगोलका अनुसार केन्द्रलाई पहुँचयुक्त बनाउन सांकेतिक भाषा अनुवादक राख्नेसहितको योजना रहेको छ । महानगरले गत साउनमा सेवाग्राही सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा सहभागी ५१७ मध्ये ६६ प्रतिशतले अनलाइन सेवाको अपेक्षा व्यक्त गरेपछि यो सेवा सुरु भएको हो ।
‘महानगरपालिकामा आउने कोही पनि सेवाग्राहीले सेवाका लागि कसलाई भेट्ने, कुन तलामा पुग्ने, कागज के चाहिन्छ, प्रक्रियाका लागि कति समय लाग्छ भनेर अल्मलिनु पर्दैन,’ प्रशासकीय अधिकृत परियारले भने। केन्द्रसँगै स्तनपान कक्ष छ । कक्षसँगै प्राथमिक स्वास्थ्य सेवा कक्ष छ । यस कक्षबाट सरकारले उपलब्ध गराएका ९८ प्रकारका निःशुल्क औषधि प्राप्त हुन्छ ।
महानगरका स्वास्थ्य विभागका प्रमुख दिपक केसीका अनुसार सेवा केन्द्रमा आएका सेवाग्राहीले केही समय पर्खनु पर्ने अवस्था रह्यो भने सुगर, प्रेसर जस्ता जाँच गराउन सक्नेछ । यस कक्षबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह हुनेछ ।’ निःशुल्क वाइफाइ सेवा, मोबाइल चार्जिङ् स्टेशन, प्रतिक्षालय, कफी केन्द्रका सुविधा हुन् ।
एकल सेवा केन्द्रबाट पाइने सुविधाहरू
एकल सेवा केन्द्र सञ्चालन कार्यविधि अनुसार सेवाग्राहीलाई माग भएबमोजिमका सेवाका विषयमा जानकारी प्रदान गरिनेछ । आवश्यकता अनुसार परामर्श र सेवामा सहजीकरण गरिने महनगरले जनाएको छ ।
केन्द्रमा आठौंस्तरका अधिकृत प्रमुख हुनेछन् । केन्द्रमा एक जना महिलासहित २ जना अधिकृत स्तर छैटौँ तहका जन सम्पर्क अधिकृत हुनेछन् । नर्सिङ् सेवासमेत उपलब्ध गराउन सक्ने मनोसामाजिक परामर्शदाता १ जना, महानगर प्रहरी बलबाट नगर प्रहरी नायव निरीक्षक १ जना र श्रेणीविहिन ३ जना कार्यालय सहयोगी हुनेछन् ।
कसरी लिने सेवा ?
महानगरको सेवा माग गर्ने व्यक्ति वा संस्थाको विद्युतीय अभिलेखबाट दर्ता नम्बर सिर्जना गरिनेछ । लिखित रुपमा सेवा माग गरिएको भए सोको पहिलो पाना स्क्यान गरेर विद्युतीय माध्यमबाट सम्बन्धित विभागमा पठाइनेछ । यसरी विद्युतीय माध्यमबाट पठाइएका सक्कल कागजपत्र विभागमा पठाइनेछ ।
यसरी पठाइएको विभागका बारेमा सेवाग्राहीलाई एसएमएसमार्फत जानकारी दिइनेछ । काम सकिएपछि यसको जानकारी एसएमएसबाट प्राप्त हुनेछ । अति गोप्य र गोप्य भनेर आएका मागका सन्दर्भमा बाहिरी विषयलाई अभिलेख गरेर सम्बन्धित विभागमा पठाइनेछ ।
सेवाग्राहीले दर्ता नम्बर प्राप्त गरिसकेपछि आफ्नो काम कसरी भइरहेको छ भन्ने कुरा मोवाइल एप्लिकेसन वा वेब पेजबाट हेर्न सक्नेछन् ।