काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरुले पनि बिमाको सुविधा दिनुपर्ने बताएका छन्।
शुक्रवार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निजी अस्पतालहरुले पनि बिमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन्।
उनले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बिमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरुमा बिमा सुविधा हुनुपर्ने बताए। त्यसको लागि बिमा बोर्ड शक्तिशाली हुनुपर्ने उनको भनाई छ।
उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए। कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बिमा व्यवस्थित गर्न नसकिने उनको भनाई छ।
उनले भने – ‘अब सरकारी अस्पतालमा मात्रै बिमाको सुविधा लिन पाइने। निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। निजीमा महङ्गो हुन्छ, मेरो बिमाको पैसा धेरै जान्छ। सरकारीमा कम हुन्छ मेरो बिमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ। शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ?’
उनले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरुलाई आग्रह गरे। मन्त्री पौडेलले हरेक दिन के–कति विपन्न नागरिकको उपाचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे।
उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरुप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए।
उनले भने – ‘यहाँहरुले आफ्नो संस्थालाई जति पारदर्शी बनाउन सक्नुभयो त्यति विश्वसनीयता बढेर जान्छ। जस्तैः दश प्रतिशत विपन्नलाई दिने। यो नेतालाई भाषण गर्न किन दिनुहुन्छ? स्वास्थ्य मन्त्रीलाई बारम्बार भन्ने किन बनाइरहनुहुन्छ? आफैँ दिनुस् न। आज यति बेड अकुपाईँ थियो। त्यो मध्येमा यति जनाले निःशुल्क उपचार गरे। तिनको नाम यो हो। आफैँ उपचार गर्नसक्ने मान्छेले विपन्नमा सुविधा लियो भन्ने कुरा सार्वजनिक भयो भने त्यसको बेइजत हुन्छ। त्यसपछि उसले लिदैँ लिँदैन।’
उनले बिमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए। बिमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरि व्यवस्थापन गर्नुपर्ने मन्त्री पौडेलको भनाई छ।