काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्ने बताएका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो जानकारी दिएका हुन्।
‘चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्थापन मिलाइरहेको छ। साथै चाडवाड लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेबाट सञ्चालन गर्न तयारी भइरहेको छ,’ उनले भने।
चाडपर्व लक्षित गरी चामल र चिनी लगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारले आवश्यक व्यवस्था गरिरहेको उनले जानकारी गराए।
उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको पनि जानकारी दिँदै उनले बजारमा उच्च मागहरू हुने समयमा मूल्य अस्वभाविक रुपमा वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिइएको बताए।
‘उपभोक्ता अदालत गठनको लागि प्रक्रिया अगाडि बढिसकेको छ। साथै बजारमा उच्च मागहरु हुने समयमा मूल्य अस्वभाविक रुपमा वृद्धि गर्नसक्ने अवस्थालाई दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिव्रता दिइएको छ,’ उनले भने।
साथै, सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गर्ने उनले बताए।
‘सूचना र अनुसन्धानका आधारमा बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने संवेदनशील, जोखिमयुक्त बजार क्षेत्रको यकिन तथा विश्लेषण गरी नियमित एवं आकस्मिक अनुगमन गरिनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत स्थानीय तहहरुसँगको समन्वयमा रैथाने बाली र स्थानीय उत्पादनको प्रवद्र्धन गर्न ति वस्तुहरूको खरिद गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने।