काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्का बैठक बोलाएका छन्।
बुधबार साँझ पाँचबजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपालको संविधानमा संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।
त्यसैगरी प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख परिषद्का सदस्य रहने संवैधानिक व्यवस्था छ।
नयाँ प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक डाकिएको स्राेतले जनाएकाे छ। न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम परिषद्मा पठाएको थियो। उक्त सूचीमाथि छलफल गर्न आज बैठक बोलाइएको हो।
तर, आजको बैठकमा विपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपभामुख इन्दिरा राना उपस्थित हुने/नहुने टुंगो छैन। प्रचण्ड पार्टी बैठक र प्रशिक्षणको लागि यतिबेला मधेसमा छन्।
उपसभामुख रानालाई सत्तारुढ कांग्रेस र एमालेले उपसभामुखबाट हटाउने तयारी गरिरहेका छन्।
न्यायपरिषद्ले सिफारिस गरेका ८ जना मध्येबाट एकजनालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने हुन्छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट अवकाश पाउँदैछन्। संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।