काठमाडौं– सी–चेक (प्राविधिक जाँच) का लागि इटली गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान अढाई महिनापछि आज काठमाडौँ आइपुगेको छ ।
असार ८ गते इटली गएको ए ३३० नाइन एन एएलवाई कलसाइन भएको जहाज सम्पूर्ण प्राविधिक जाँच गरी काठमाडौँमा फर्किएको हो ।
निगमको अर्को वाइडबडी विमान भने सी–चेकका लागि अझै इटलीमै छ । उक्त जहाजलाई एक महिनापछि काठमाडौँ ल्याइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
सी–चेकपछि फर्किएको एक वाइडबडीसँगै नेपाल वायुसेवा निगमसँग थप दुई न्यारोबडी जहाज उडानका लागि योग्य छन् । निगमसँग अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार जहाज छन् ।
सी–चेक गरेर एउटा वाइडबडी आएपछि निगमले जापान उडानलाई पुनः निरन्तरता दिने भएको छ । दुई वाइडबडी सी–चेकका लागि गएपछि भदौ १३ देखि जापानको उडान हुन सकेको छैन ।