रौतहट– मौलापुर नगरपालिका-९, का वडाध्यक्ष श्याम किशोर साह माथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्।
सोनरनियाका गाउँलेहरूले एक महिलालाई यौन शोषण गर्ने वडाध्यक्षलाई साहलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरे।
स्थानीय महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै गाउँलेहरूले शुक्रवार अपराह्न वडाकार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका छन् । तालाबन्दी गर्नुअघि गाउँलेहरूले ब्यानर र प्लेकार्डसहित विभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा गरेका थिए ।
केही दिन अघि गाउँकै एक महिलालाइ वडाध्यक्ष साहले निरन्तर यौन शोषण गरेको आरोप लगाएकी थिइन । विवाह गर्ने आश्वासन दिएर वडाध्यक्ष साहले विगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठुलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।
वडाध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुरले घटनाबारे सत्य तथ्य बुझ्न गत ७ गते उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले १५ दिन भित्रमा छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो । तर मौलापुरले हालसम्म प्रतिवेदन सार्वजनिक नगर्दा वडाध्यक्षलाइ ढाकछोप गर्ने काम भइरहेकाे स्थानीयकाे गुनासाे छ ।
नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरी दोषी वडाध्यक्षलाई कारबाही नगरेसम्म कार्यकक्षमा लगाएको ताला नखोल्ने स्थानीयकाे चेतावनी छ ।