काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
यतिबेला कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। ती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ।
कोसी, बागमती र कर्णाली प्रदेशका केही स्थान, गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।