गोरखा– गोरखामा आजदेखि गण्डकी प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गोरखा नगरपालिका न्यायिक समितिको आयोजनामा प्रदेश स्तरीय न्यायिक भेला तथा प्रशिक्षण हुन लागेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशमा रहेका ८५ स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरू तथा न्यायिक समितिमा रहेर काम गर्ने कर्मचारी तथा प्रशिक्षकहरू सहभागी रहेका छन् ।
शनिवारसम्म चल्ने भेलाले पहिलो पटक न्यायिक मञ्चको समेत गठन गर्नेछ । यो मञ्च गठन भएको खण्डमा देशैभर मध्ये गण्डकी प्रदेश पहिलो हुनेछ ।
न्यायिक नेतृत्वको विकास गराउने र न्यायिक अभ्यासलाई संस्थागत गराउने, मेलमिलापको माध्यमबाट विवाद समाधान गर्ने प्रक्रियालाई प्रोत्साहित गरी सामाजिक सौहार्द्यता सद्भाव कायम राख्ने उद्देश्यले गोरखामा भेलाको आयोजना गरिएको गोरखा नगरपालिका उपमेयर मसलीमाया थोकरले बताइन् ।
स्थानीय स्तरमा विवाद समाधान गर्ने परम्परागत संस्कृतिको विकास गर्ने, न्यायिक अधिकारको प्रयोगमा समावेशिताको मान्यतालाई बलियो पार्न, स्थानीय सकारको मूल्य र मान्यतालाई व्यवहारमा कार्यान्वयन गरी संघीय शासन प्रणाली प्रति समुदायमा अपनत्वको भावना विकास गराउने उद्देश्यले भेला र प्रशिक्षणको आयोजना उपमेयर थोकरको भनाई छ ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य, नगरपालिका संघ, गाउँपालिका महासंघका अध्यक्षहरूको उपस्थिति रहने आयोजक गोरखा नगरपालिका, न्यायिक समितिले जानकारी दिएको छ ।
कार्यक्रममा सम्पन्न गर्न १६ लाख ४३ हजार खर्च हुने अनुमान गरिएको छ । अनुमानित खर्च मध्ये १० लाख ४३ हजार गोरखा नगरपालिका, ४ लाख मुख्या महान्यायाधिवक्ता कार्यालय पोखरा र २ लाख मुख्य मन्त्रीको कार्यालय पोखराबाट प्राप्त हुने उपमेयर थोकरले बताइन् ।