काठमाडौं– सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तनको सूचनालाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । बुधवार (असोज २ गते) बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।
यसअघि गत भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम ‘सुकीदह’ र केन्द्र वडा नम्बर २ स्थित ‘सुखाओडार (जिनावाङ) राख्ने निर्णय गरेको थियो ।
२०८० वैशाख ८ गते सम्पन्न भएको गाउँ सभाले गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरी नाम ‘सुकीदह’ र केन्द्र सुखाओडार सिफारिस गरे अनुसार सरकारले गत भदौमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको हो ।
‘गंगादेव गाउँपालिका, रोल्पाको नाम परिवर्तन गरी सुकीदह गाउँपालिका कायम गर्ने र सो गाउँपालिकाको केन्द्र साबिक वडा नं. ५ सानडाँडाबाट वटा नं. २ स्थित सुखाओडार (जिनावाङ) मा कायम गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८१/५/२० गतेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने,’ बुधवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ ।
२०७४ मा नेकपा माओवादी केन्द्रले जितेपछि सहिदको नाम भन्दै गंगादेव गाउँपालिका कायम गरिएको थियो । सुखाओडारबाट सानडाँडामा केन्द्र सारिएको थियो ।
आफ्नै श्रीमती र आफन्तको नाममा पालिकाको नाम राखेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष वीरबहादुर खत्रीको आलोचना भएको थियो । विरोधकै बीचमा २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेसँगै नाम फेर्ने प्रक्रिया सुरु भएको थियो ।
०७३ सालमा गाउँपालिका कायम हुँदा गंगादेव गाउँपालिकाको नाम सुकीदह नै थियो ।