काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्दा विचार नपुर्याए देश सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्ने बताएका छन् ।
संविधान निगरानी समूह र इन्ष्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान संशोधन जटिल र संवेदनशील विषय भएको बताए ।
‘संविधान संशोधन निकै संवेदनशील गम्भीर विषय हो । यो संविधान लामो संघर्ष र ठूलो बलिदानपछि संविधान सभाबाट बनेको हो, जसमा अधिकतम राजनीतिक सहमति बनेको संविधान हो, यसमाथि हामीले अलिकति पनि छेडखान गर्ने ढंगले गयौं भने पान्डोराको बाकस खोलेको जस्तो हुने र देश सम्हाल्नै नसक्ने खतरा हुन सक्छ’, उनले भने ।
पूर्व प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘अलिकति खोलिदिँदा अहिलेसम्म भएको सिस्टम भत्किने र बेलगाम अराजकता बढ्ने खतरा हुन सक्छ भन्ने प्रति गम्भीर हुनुपर्छ ।’
संविधान संशोधनबाट महिला, आदिवासी जनजाति, दलितलगायत पछाडि पारिएका समुदायको अधिकार खोस्न खोजेमा ठूलो राजनीतिक द्वन्द्व हुन सक्ने उनले बताए । ‘यस्तो भयो भने नेपालमा सम्हाल्न सक्ने हुन्छ भन्ने लाग्दैन’, प्रचण्डले भने ।
उनले जिम्मेवारीसाथ संविधान कार्यान्वयन गर्ने र कार्यान्वयनका क्रममा प्रयोगमा नआएका कुरालाई संशोधन गर्न सकिने बताए ।
कांग्रेस र एमालेले सरकार गठनका बेला संविधान संशोधन गर्ने भनेर नागरिकलाई झुक्याएको उनले बताए ।
‘उहाँहरुको एजेण्डा दुई चार दिन अगाडिसम्म संविधान संशोधन थिएन, एमाले र कांग्रेसले संविधान संशोधन गर्नुपर्यो भनेर छलफल गरेको थिएन’, उनले भने, ‘उहाँहरुलाई चाहिएको सरकार थियो, माओवादी नेतृत्वको सरकार जसरी पनि हटाउनैपर्छ भन्ने निश्कर्षमा पुग्नुभयो, त्यसपछि कथा बनाउनुभयो संविधान संशोधनलाई ।’
संविधान संशोधनको बहस संवेदनशील भएर धेरै सोचेर मात्र अघि बढ्नुपर्ने उनको धारणा छ ।
‘संविधान संशोधन गम्भीर र संवेदनशील विषय हो । पन्डोराको बाकस खोलेजस्तो पनि हुनसक्छ । अहिलेसम्म भएको प्रणाली भत्कने र अराजकता निम्तने खतरा आयो भने मुलुक नयाँ द्वन्द्वको भुमरीमा फस्ने खतरा छ । यसमा बढी नै ध्यान दिनुपर्छ ।’