मुगु- हिमाली जिल्ला मुगु ६५ औँ जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा भएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी मुगु जिल्ला लाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
मुगु जिल्लामा रहेका १ नगरपालिका र ३ गाउँपालिका गरी ४ स्थानीय तह छन् । सबै स्थानीय तह यस अघि साक्षर घोषणा भएसंगै सोमबार मुगु जिल्ला लाई देशकै ६५ औ जिल्लाका रूपमा साक्षर जिल्ला घोषणा गरिएको छ । मुगु साबिक कर्णालीका ५ जिल्ला मध्ये पहिलो साक्षर जिल्ला घोषणा हुन सफल भएको छ ।
छायानाथ रारा नगरपालिका ९६.२५ प्रतिशत, सोरुमा गाउँपालिका ९६.५ प्रतिशत मुगुमकारमारोङ गाउँपालिका ९५ प्रतिशत र खत्याड गाउँपालिका ९६ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । साक्षर हुन तोकिएका सूचकहरू पूरा भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख मन्जन बहादुर कार्की, छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भाम लगायत पालिका प्रमुखहरूले सामूहिक प्रतिबद्धता सहितको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गदै मुगु जिल्ला लाई साक्षर घोषणा गरेका छन् ।
तोकिएका १२ सूचकहरूमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधान अनुसार छायानाथ रारा नगरपालिका लाई गत असोज २ गते खत्याड गाउँपालिका र मुगुमकामारोङ्गलाई असोज ४ गते र सोरु गाउँपालिकालाई असोज ५ गते गरी चारवटै स्थानीय तह साक्षर घोषणा पछि सोमबार मुगु जिल्ला लाई नै साक्षर जिल्ला घोषणा गरिएको छ ।
नेपालको जनगणना २०७८ अनुसार मुगुमा कुल जनसंख्या ६४ हजार ५ सय ४९ रहेको छ जनसंख्या रहेको छ । जसमा मुगुमा ९५ प्रतिशत नागरिक साक्षर रहेको जनाइएको छ ।
हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्यालकुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरू व्यक्त गर्न सक्ने जस्ता १२ सूचकहरू पूरा भएपछि पालिका तथा जिल्लालाई साक्षर घोषणा गर्ने नीति अनुरूप मुगु जिल्लाको साक्षरता सूचक ५० प्रतिशत भन्दा माथि पूरा भएकाले साक्षर जिल्ला घोषण गरिएको जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन बहादुर कार्कीले बताए ।
उनका अनुसार गत भाद्र ३० गते जिल्ला सभाको बन्द सत्रमा पालिका हुँदै जिल्ला लाई साक्षर जिल्ला घोषण गरिने निर्णय बमोजिम मुगु जिल्ला साक्षर जिल्ला घोषणा गरिएको समन्वय प्रमुख कार्कीले बताए ।
हिजो गाउँ घरमा प्रदेशबाट आफन्तहरूले पठाएको चिठी पढ्नका लागि गाउँ गाउँमा पढेको मान्छे खोज्दै हिँड्नु पर्ने अवस्था थियो । तर अहिले त्यो अवस्था छैन,महिला दिदी बहिनीहरू कोही साक्षर थिएनन्, कतै बजार तिर जाँदा सामानहरूको मूल्य अनुसार नगद दिन सक्ने साक्षर थिएनन् आज सबै जान्न सक्ने भएका छन् नेपाल शिक्षक महासङ्ग मुगुका अध्यक्ष विष्णुमाया भामले भने ।
छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले छायानाथ रारा नगरपालिका जिल्लाकै पहिलो साक्षर पालिका बनाउन सफल भएको बताएका छन् । घोषणाले मात्र नभई छायानाथ रारा नगरपालिकामा ५ वटा सामुदायिक सिकाई केन्द्र स्थापना भएका छन् । त्यसै अनुरूप अध्ययनका क्रियाकलाप अगाडी बढाई छायानाथ रारा नगरपालिकाका लाई सत प्रतिशत साक्षर बनाउने योजनामा रहेको नगर प्रमुख भामले बताए ।
संघीयता बारे तथ्य बाहिर गएर अफवाह फैलाइएको छ । वास्तवमा देश संघियतामा गए देखी गाउँ गाउँमा विकासको लहर छाएको छ । जनताहरूले गलत कार्यको स्वतन्त्र पूर्वक विरोध गर्न पाएका छन्,दुर्गम गरिब निमुखा जनताका छोरा छोरीले राज्यको राजनैतिक र प्रशासनिक नेतृत्व गर्न पाएका छन् ।
जिल्ला अस्पतालमा एमजिडिपी अभाव छ प्रदेश सरकारले एमजिडिपी चिकित्सक खोजी रहेको छ तर पाउन सकेको छैन भएका एमजिडिपी चिकित्सकहरू दुर्गममा आउन चाहँदैन सुगम नै रोज्छन् । दुर्गम जिल्लाको स्वास्थ्य,शिक्षाका विभिन्न क्षेत्रको गुणात्मक सुधारका लागि आफूले कर्णाली प्रदेश सरकारमा उपलब्धिमूलक कार्यमा ध्यान दिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिबद्धता व्यक्त गरे।
मुगु जिल्ला साक्षर जिल्ला घोषणा भएसँगै देशका ६५ जिल्ला साक्षर जिल्ला घोषणा भएका छन् भने अझै १२ जिल्ला साक्षर जिल्ला घोषणा हुन बाँकी छन् ।