काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा बुधबार भेटवार्ता भएको छ।
सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ।
भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारका तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमतिबमोजिम सहयोगका परियोजना कार्यान्वयनलाई तीव्रता दिने बताए।
उनले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।
अर्थमन्त्री पौडेलले केरुङ-काठमाडौँ रेलवे निर्माण, टोखा-छहरे सुरुङ मार्ग, किमाथाङ्का-हिले, हिल्सा-सुर्खेत-भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्कलगायत पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरे।
त्यसैगरी चीनका विभिन्न सहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा विस्तारका लागि सहयोग गर्न पनि उनले आग्रह गरे।
भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका तर्फबाट गरिएका अनुरोधप्रति चीन सरकार सकारात्मक रहेको र काम अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी दिए।