काठमाडौं– काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।
शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।
शनिबार अविरल बर्षाको कारण त्रिभुवनराजमार्ग अन्तरगत चन्दागिरि नगरपालिका वडा नं २ र धादिङको सिमानामा पर्ने नागढुङ्गा नौविसे सडक खण्डको झ्याप्लेखोला पहिरामा सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा खटिएको ३५ जनाको टोलीले ११ जनाको शव निकालेको हो ।
प्रहरीका अनुसार एक हाइस र भारतिय नम्बर प्लेटको मालबाहक ट्रक निकालिएको र २ वटा जेसीबीले हटाउने कार्य भइरहेको छ ।