गोरखा- धार्चे गाउँपालिकाकाे लापुबेँसीबाट काठमाडौँ छुटेको बस दुई दिनदेखि सम्पर्क बेपत्ता भएको छ। दरौँदी यातायातका अध्यक्ष नारायण खत्रीका अनुसार ना ४ ख २२७० नम्बरको बस असोज ११ गते रातिदेखि सम्पर्कविहीन भएकाे हो।
‘११ गते छुटेको बस त्यही दिन राति १० बजे खानीखोलासम्म सम्पर्कमा थियो,’ उनले भने, ‘त्यसपछि भने कसैसँग सम्पर्क भएको छैन। आजसम्म पनि कोही कसैसँग सम्पर्क नभएपछि कम्पनीले खोजी गरिरहेको छ।’
उनका अनुसार बसमा चालक र दुईजना सहचालक मात्र भएको बुझिएको छ। अन्य यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय, गोरखा प्रहरीका सूचना अधिकारी डीएसपी रमेश कुमार श्रेष्ठले भने बसमा कति यात्रु सवार भएकाे यकिन नभएकाे बताउँछन् । ‘धेरै यात्रु थिएनन् गोरखाबाट छुट्दा भन्नुभएको छ । तर बीचबाटोमा चढेको हुन सक्छ,’ उनले अघि थपे, ‘केही विवरण आयो भने सार्वजनिक होला।’
बसमा सवार एक यात्रु मुस्लिनमा झरेका थिए ।