रौतहट– आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आफ्नै मौलापुर नगरपालिकाको कार्यशैलीको तारिफ गरेका छन् ।
मेयर रिनाकुमार साहले नगरमा लागु गरेको विभिन्न आयोजना देशमै उत्कृष्ट रहेको र सो योजना अन्य पालिकाले समेत लागु गर्नुपर्ने उनको धारणा थियो ।
बडादसैँ, शुभ दीपावली एवं छठ पर्वको अवसरमा मौलापुर नगरपालिकाको सोनरनियामा आज आयोजित शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागी अध्यक्ष साहले समृद्ध पालिका निर्माणका लागि नगरपालिकामा लागु गरिएको आयोजना अन्य पालिकामा समेत लागू भए देश समृद्ध बन्ने जिकिर गरे ।
नगरपालिकाकी मेयरले आफ्नो पालिकामा नगर प्रहरीको साटो नगर शिक्षक नियुक्त गरेकी छन् । अन्य पालिकाले शासन गर्नका लागि नगर प्रहरी नियुक्त गरेको तर मेयर रिनाले विद्यार्थीहरूको पढाई उत्कृष्ट बनाउनका लागि शिक्षक राख्नु सकारात्मक भएको साहको भनाइ थियो ।
मेयर रिनाले नगरपालिकामा किसान एवं सर्वसाधारणका लागि ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम लागु गरेकी छन् । मौलापुरकी मेयर साहले आफ्नो नगरभित्र लागु गरेको ‘कर फ्री’ कार्यक्रम समेत लोकप्रिय बनेको छ ।
‘मौलापुर नगरपालिकामा ‘फ्री बिजुली, फ्री पानी’, असहायसँग मेयर कार्यक्रम, नगर प्रहरी होइन नगर शिक्षक छ । यहाँ कुनै सिफारिस वा कामको कर लाग्दैन, कर फ्री छ । यस्ता लोकप्रिय कार्यक्रम लागु गरेर सर्वसाधारणलाई सेवा गर्ने मेयर रिनाजीलाई म बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने, ‘म अरू पालिकामा हेर्छु करमाथि कर लागु गरिएको छ । शिक्षक होइन नगर प्रहरी नियुक्त गरिएको छ, शासन गर्नका लागि । किसानको विधुत महसुल तिर्ने, सर्वसाधारणका छोरीको विवाहमा आर्थिक सहयोग गर्ने, डाक्टर नियुक्त गर्ने र बिरामीलाई सेवा दिने काम गर्नु धेरै नै उत्कृष्ट छ । अरू पालिकाले समेत मौलापुरबाट सिक्नुपर्ने देखिन्छ ।’
असहायसँग मेयर कार्यक्रम अन्तरगत मौलापुरले गरिब समुदायका उमेर पुगेका छोरीको विवाहमा ३० हजारका दरले कैयन् परिवारलाई नगद सहयोग गर्दै आएको छ ।
मौलापुरमा धुवाधुलो मुक्त अभियान अन्तरगत हजारौँ घरमा ग्यास सिलिन्डर, चुलो समेत वितरण गरिएको छ ।