रोल्पा– माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सहकारीका बचतकर्ताको रकम ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसदसमेत रहेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरेका छन् ।
पार्टी सम्बद्ध पत्रकारको संस्था प्रेस सेन्टरले गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गरेको पत्रकार भेटघाटमा पुनले त्यस्तै आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने, तर गुरुङ र पोखरेललाई नछुने गर्न नमिल्ने बताए ।
उनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए ।
राज्यका निकायले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ थियो ।
‘रवि लामिछानेलाई जस्तै आरोप कांग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ’, पुनले भने, ‘यसमा दोहोरो नहोस् । रवि लामिछानेमाथि जे गरिएको छ, धनराजलाई पनि त्यही होस् । प्रधानमन्त्रीको पार्टीका सांसद पोखरेलजीमाथि १८ करोड हिनामिना गरेको आरोप छ । उहाँहरु सत्तापक्षमा भएकाले छानबिन गर्नु नपर्ने, त्यस्तै आरोप लागेका रवि लामिछाने प्रतिपक्षी दलको सभापति भएकाले पक्राउ गरेर थुन्नुपर्छ भन्ने हो भने त्यो प्रतिशोध हुन्छ ।’
उनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे ।
‘कोही ठूलो, कोही सानो, कोही नजिक, कोही टाढा, कोही सत्ता पक्षको, कोही प्रतिपक्षको वा कोही सर्वसाधारण भएका आधारमा राज्यले फरक व्यवहार गर्न मिल्दैन’, उनले भने, ‘जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक रुपमा उठेका प्रश्नको नेताहरुले ढिलोचाँडो दिनैपर्छ ।’
जतिसुकै बलशाली मानिस भए पनि लोकतन्त्रमा प्रश्न र कानूनभन्दा माथि कोही हुन नसक्ने उनको भनाइ थियो ।
उनले रास्वपा सभापति लामिछनेलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । लामिछाने सांसद हुनुअघि पक्राउ परेर थुनिएको र दल खोलेर सांसद निर्वाचित भएपछि नागरिकता प्रकरणमा अदालतले बर्खास्त गरेको भन्दै दोस्रोपटक समेत भारी मतले विजयी भएको नबिर्सन उनले औंल्याए ।
‘कसैलाई आरोप लगाउँदैमा अपराधी करार गर्न पाइँदैन । उसले आफ्नो कुरा भन्न पाउँछ । अनुसन्धान र छानबिनबाट जे कुरा पुष्टि हुन्छ, त्यो स्थापित हुन्छ, त्यो समाजले मान्नुपर्छ । कुनै मान्छेमाथि अनुसन्धान गर्दैमा अपराधी भइहाल्ने, कुनै मान्छेलाई छुनै नहुने भन्ने दुवै अतिवादी सोच हुन्’, पुनले भने, रवि लामिछानेजी पहिला पनि गिरफ्तार हुनुभएको हो । त्यसपछि पार्टी खोलेर भारी मतले चुनाव जित्नुभयो । फेरि नागरिकता प्रकरणमा सांसद पद गयो । फेरि दोस्रो पटक चुनावमा जाँदा भारी मतले जित्नुभयो । जनताले उहाँलाई अनुमोदन गरेर पठाए । त्यसैले रविजीले अनुसन्धानाई सहयोग गर्नुपर्छ ।’
उनले कांग्रेस र एमालेबीचको अप्राकृतिक र रहस्यमय गठबन्धन लामो समय नजाने ठोकुवा गरे ।
वर्तमान सरकार अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन चुकेको भन्दै पुनले दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीनलाई सन्तुलनमा राख्न नसके नेपालमा स्थायित्व, विकास र स्वाधीनताको रक्षा हुन नसक्ने तर्क गरे ।
‘कांग्रेस र एमालेबीचमा समस्या आइरहेको छ । यो गठबन्धन लामो समय चल्दैन भन्ने सुन्न थालिएको छ’, पुनले भने, ‘अन्तर्राष्ट्रिय रुपमा पनि सन्तुलन गर्न सकिरहनुभएको छैन । उत्तर र दक्षिणी छिमेकीलाई सन्तुलनमा राखेर मुलुकलाई विकास र समृद्धिमा लानुपर्नेमा दुई देशसँगै नेपालको सम्बन्धमा चिसोपना आएको जस्तो देखिन्छ । हाम्रो अनुरोध के छ भने उत्तर र दक्षिण दुई छिमेकीलाई सन्तुलनमा नराखी नेपालमा विकास, स्थिरता र समृद्धि सम्भव छैन ।’
सरकार सञ्चालनमा कुनै असहमति नहुँदानहुँदै नाटकीय रुपमा कांग्रेस-एमाले मिलेको उनले टिप्पणी गरे ।