चितवन– राप्ती नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह ३ महिनामा २१ दिन मात्रै कार्यालयमा उपस्थित भएको पाइएको छ ।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका शाह गत साउन २८ गते हाजिरी भएका थिए । पालिकामा हाजिरी भएको दिनदेखि उनी असोज मसान्तसम्म २१ दिन मात्रै कार्यालयमा उपस्थित भएको हुन् ।
पालिका मेयर शमशेर लामाले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै सम्बोधन गरेर पत्र पठाउँदै सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।
उनले लेखेको पत्र अनुसार प्रमुख प्रशासकीय अधिकृत शाह साउनमा ३ दिन, भदौमा ९ दिन र असोजमा ९ दिन गरी हालसम्म २१ दिन मात्रै कार्यालयमा उपस्थित भएका हुन् ।
उनी नियमित कार्यालयमा नआउँदा नगरपालिकाको नियमित आर्थिक तथा प्रशासनिक कार्य समेत प्रभावित भएको पत्रमा उल्लेख गरेका छन् । उनले हाकिम कार्यालयमा नआउँदा कर्मचारीको मासिक तलब तथा भत्ता र नियमित गर्नुपर्ने भुक्तानी सबै रोकिएको बताए ।
पालिकाले गत असोज २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित भएको जनाएको थियो ।
मन्त्रालयले समन्वय नगरेपछि मेयर लामाले प्रमुख प्रशासकीय अधिकृतका लागि प्रधानमन्त्री नै गुहारेका हुन् ।