काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमाथि प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप लगाएका छन्।
पार्टीले कात्तिक १० गते काठमाडौंमा गर्न लागेको खबरदारीसभाको तयारीका लागि मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित बैठकमा प्रचण्डले सरकार विभिन्न आरोपमा मुछिएका सत्तारुढ दलका नेताहरुलाई भने बचाउन लागिपरेको बताए।
‘तपाइँ र हामीमा फरक के भयो भने हामी के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं। तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ,’ प्रचण्डले भने।
उनले सुशासनको मामिलामा सरकार निकै कमजोर देखिएको बताए।
सरकारले एकपछि अर्को नाजायज हर्कत गरिरहेका कारण जनतामा सरकारविरोधी भावना बढ्दै गएको उनको भनाइ छ।
उनले उद्योगहरुबाट बक्यौता महसुल उठाउन खोज्दा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई हटाउन खोज्नेदेखि जग्गा दान प्रकरणसम्म आउँदा सरकार भ्रष्टाचारीको संरक्षकका रुपमा देखिएको बताए।