काठमाडाैं- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नक्कली भुटानी शरणार्थीलगायतका विभिन्न काण्डका मुद्दा कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरेका छन्।
माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधनमा उनले यस्तो प्रश्न गरेका हुन्।
नक्कली भुटानी शरणार्थी बाँसबारी, गिरिबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै उनले भने, ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो।’
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन आग्रह गरे। ‘नत्र संसद् र सडकमा तपाईंहरूले त्यो प्रतिरोध देख्नुपर्नेछ, जसको तपाईंले कल्पना गर्नुभएको छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन, उपसभामुख हटाउन र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउन देखिन्छ, यो हर्कत सरकारका लागि महँगो पर्नेछ।’
यो देश कांग्रेस-एमालेको विर्ता नभएको उल्लेख गर्दै उनले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्योभन्दा माथि जनता छन् भन्ने बिर्सेको टिप्पणी गरे। ‘जे गरे पनि हुन्छ भन्ने लाग्छ, जवाफ दिनुपर्दैन?’ अध्यक्ष प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने, ‘संसद्को रोस्टममा भद्र तरिकाले मागिन्छ तिमीहरूसँग जवाफ, धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि मागिनेछ जवाफ।’
सरकारले ७० नम्बर ल्याएको भनी प्रचार गरेकोप्रति प्रश्न गर्दै उनले भने, ‘अहिले नै सत्तरी आएपछि कस्तो होला त यो सरकारको सय नम्बर? मैले निरन्तर भन्दै आएको छु, ‘संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास। आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन, सुशासनको डरले जोडेको हो।’
पहिले एक्लै पार्टीको दुईतिहाइ भएको वेलामा संसद् भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले दुईतिहाइको घमण्ड गर्नुको कुनै अर्थ र औचित्य नहुने पनि उनको टिप्पणी थियो।